रास्वपाको सरकारमा जाने-नजानेबारे निर्णय गर्न बैठक बस्दै
रासंसा/काठमाण्डौ, बैशाख २२,
मुलुकमा सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने र सरकारमा जाने कि नजाने भन्नेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्दैछ । रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ । पार्टी सभापति रवि लामिछानेले उपनिर्वाचन जितेर आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए। यसबारे पार्टी सभापति लामिछानेले सोमबारकै बैठकमा ब्रिफिङ गरेका थिए। लामिछानेले केन्द्रीय कमिटी सदस्य र सांसदहरूसँग पनि राय मागेका थिए। त्यसपछि आन्तरिक छलफलमा जुटेको रास्वपाले आज सरकारमा जाने नजाने बारे निर्णय गर्ने बताइएकाे छ। आज बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यसबारे निर्णय गर्ने पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। बैठक आज ५ बजे बस्ने छ। गत सोमबार पनि रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठक बसेको थियो। यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो प्रवक्ता ढकालले जानकारी दिए।