एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा, – नक्कली भुटानी शरणार्थी प्रकरण

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २२,

मुलुकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ । ‘पक्राउ परेकाहरूको बयानका क्रममा आर्थिक कारोबार हुँदा गृह मन्त्रालयका तत्कालीन सचिव रहेका प्रेमकुमार राईको पनि नाम आएको छ, बयानका आधारमा प्रहरीले थप प्रमाणको खोजी गरिरहेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले राजधानीसँग भने । राई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख छन् । उनी २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवको जिम्मेवारीमा थिए । पक्राउ परेकाहरूको बयानका क्रममा नाम आएपछि एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र नेपाल सरकारका बलालवाला उच्च पदस्थ कर्मचारीसमेत तानिन थालेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका आरोपीविरुद्ध संगठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले बुधबार मात्रै गृह मन्त्रालयको सचिवका रूपमा त्यसबखत जिम्मेवारीमा रहेका टेकनारायण पाण्डेलाईसमेत नक्कली भुटानी शरणार्थी तयार गर्ने गिरोहलाई सघाएको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ । पाण्डे बुधबारसम्म उपराष्ट्रपति कार्यालयमा सचिवको जिम्मेवारीमा थिए । पाण्डे २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म गृहसचिव थिए । काठमाडौं जिल्ला अदालतमार्फत बुधबार नै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी बुझिसकेको छ । उनी पक्राउ परिसकेका छैनन् । प्रहरीले रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि बुधबार साँझ नै बुटवलबाट पक्राउ गरिसकेको छ । यसैगरी, हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । रायमाझी बुधबार अर्घाखाँचीमा सार्वजनिक कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भइरहेका बेला काठमाडौं प्रहरीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी बुधबार राति नै बुटवल आएको र बुटवल आएपछि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्येका एक आरोपी सागर राईले रायमाझीलाई आफूले नगद बुझाएको बयान प्रहरीसमक्ष दिएको प्रहरी स्रोत बताउँछ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले नक्कली शरणार्थी बनाउने धन्दामा जोडिएका अन्य १०÷११ जना व्यक्ति प्रहरीको निगरानीमा रहेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्तिको संलग्नता खुल्ने बताए । भुटानी शरणार्थी प्रमाणीकरणका लागि छुटेका व्यक्तिको विवरण तयार गर्ने क्रममा प्रतिवेदन बनाउँदै गर्दा राजनीतिक शक्तिका आडमा गिरोहले नक्कली शरणार्थी खडा गरेर करोडौं ठगी गरेको खुलेको थियो । ‘नक्कली शरणार्थी बनाउने धन्दामा जोडिएका अन्य १०÷११ जना प्रहरीको निगरानीमा छन्, पक्राउ परेकाहरूको बयान र पीडितको जाहेरीका आधारमा अन्य व्यक्तिको पनि संलग्नता ’boutमा खुल्दै जाला,’ काठमाडौं प्रहरी प्रमुख कार्कीले भने । सोही प्रकरणमा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई गत मंगलबार प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं प्रहरीका अनुसार शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै प्रहरीमा उजुरी गर्नेको संख्या २ सय पुगेको छ । प्रहरीका अनुसार ती पीडितबाट २१ वटा जाहेरी परेको छ । एक जाहेरीमा ६० जनासम्मको उजुरी परेको प्रहरीले जनाएको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले वैशाख २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विवरणमा आउन छुटेका शरणार्थीहरूको विवरण थप गर्ने प्रक्रियाका लागि कार्यदल गठन गरेको थियो । सो कार्यदलको प्रतिवेदनको अनुसूचीमा नाम थपेर अमेरिका पठाइदिने भन्दै गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङलगायतका जिल्लाका व्यक्तिसँग १ अर्बभन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन भने हालसम्म सार्वजनिक भएको छैन । तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार राईले तत्कालीन गृहमन्त्री र गृह सचिवलाई समेत मिलाउनुपर्ने भन्दै पीडितबाट ५ करोड आर्थिक लाभ लिएको बयानबाट खुलेको अनुसन्धनामा संलग्न अधिकृत बताउँछन् । प्रहरीले सोही प्रकरणमा मुछिएका केशव दुलाल, सानु भण्डारी र कुमार गुरुङलाई गत १२ चैतमा पक्राउ गरेको थियो भने सन्देश शर्मा र सागर राईलाई १५ चैतमा पक्राउ परेका थिए । थापाले १४ फागुन २०७४ देखि ६ जेठ २०७८ सम्म गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यस समय उनी नेकपा माओवादी केन्द्रमा थिए भने हाल थापा नेकपा एमालेको उपाध्यक्षको भूमिकामा छन् । त्यस समय गृहसचिवमा राई, महेश्वर न्यौपाने र पाण्डे थिए । पक्राउ परेकामध्ये दुलाल कांग्रेस नेत्री सुजाता कोइराला परराष्ट्रमन्त्री भएकाबखत निजी सचिवालयमा रहेको बताइएको छ । प्रहरीले भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा मंगलबार पक्राउ परेका पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो । ठगीको घटना’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १८ जेठ २०७९ मा पहिलोपटक उजुरी परेको थियो । यस्तै, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै ठगी गरेको थाहा पाएपछि पीडितले मंसिर २०७८ मा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेकोसमेत खुलेको छ ।

Like