उपनिर्वाचनको दिन वर्षा हुनसक्ने भन्दै आवश्यक तयारी गर्न आयोगले दियो निर्देशन
रासंसा/काठमाण्डौ, बैशाख ८,
मुलुकमा निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गतका तीनवटै क्षेत्रको आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ। ‘मिति २०८०/०१/१० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएका सबै मतदानस्थल तथा मतदान केन्द्रहरूमा हावाहुरी र वर्षादको कारण मतदान कार्य प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखी उक्त दिन मतदान कार्य सुचारू रूपले सम्पन्न गर्न तथा निर्वाचन सामग्रीहरू समेतको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारी लगायत आवश्यक पाल/त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न सम्बन्धित जिल्लाका विपद व्यवस्थापन समिति, निर्वाचन क्षेत्र भित्रका स्थानीय तहहरू तथा सम्बन्धित स्थानीय तहका स्थानीय तह विपद् कार्य सञ्चालन केन्द्रहरूलाई आयोगको निर्णयानुसार निर्देशन दिइएको छ। सोको आवश्यक समन्वय एवं सहजीकरण नेपाल सरकार, गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउनसमेत अनुरोध गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ। वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा हावाहुरी र वर्षाको सम्भावना रहेको भन्दै आयोगले त्रिपाललगायतका सामग्रीको जोहो गर्न निर्देशन दिएको हो।
