नेकपा एस ‘पिँध बिनाको बाल्टी’ भएको आरोप लगाउँदै मुकुन्द न्यौपानेद्वारा पार्टी छोडेको घोषणा
रासंसा/काठमाण्डौ, चैत्र २६,
मुलुकमा नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका छन् । शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै पार्टीको साधारण सदस्य समेत नरहेको घोषणा गरेका छन् । उनले भनेका छन्–‘ विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलगअलग भई वस्तुगत परिस्थितिको ठोस विश्लेषण नै नगरी मार्क्सवादका दुई चार शब्दहरू अगाडि सारेर अवस्तुवादी आत्मगत चिन्तनमा आधारित शास्त्रीय आख्यान पिलाउँदै हिँड्नु भनेको आफूलाई पिँध नभएको बाल्टीमा परिणत गर्नु हो । जति पटक इनारमा डुबाएर ताने पनि माथि आउँदा रितै हुन्छ । आज नेकपा एकीकृत समाजवादीका नेतृत्व पङ्क्तिका कतिपय नेता र तलका कमिटिका कतिपय कार्यकर्ताको हालत यस्तै छ । सांसदको लागि झगडा गर्ने सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने जति खाए पनि नअघाउने जति भरे पनि नभरिने ।’ उनले नेकपा एस पिँध बिनाको बाल्टीको अवस्थामा रहेको टिप्पणी गर्दै लेनिनले १९१७ मा ‘भविष्य नभएको पार्टीको नेता हुनभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्त्वपूर्ण कुरा हो’ भन्ने भनाइलाई आत्मसात् गरेर पार्टी परित्याग गरेको बताएका छन् । उनले गत माघ २१ र २२ गतेको केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखी छलफलको लागि माग गरे पनि हालसम्म कुनै पनि छलफल नभएकोप्रति गुनासो गरेका छन् । आफूले ५४ वर्षको राजनीतिक जीवन यात्रा गरेको बताउँदै कम्युनिस्ट कार्यकर्ता विधि, प्रक्रिया र साङ्गठनिक ढाँचा अनुरूप पार्टीको सदस्य भएर बस्नु भन्दा देशको असल नागरिक भएर वस्तु उचित हुनेछ भन्ने सोच लिएर पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।