अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिविश्वसंचारसमाचारस्पेसलहेडलाइन

जगायो सरकारको निर्णयले आशा

Share to:

रासंसा/चितवन, चैत्र २२,

मुलुकमा विगत डेढ वर्षदेखि अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया सुरु हुने भएको छ। सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको हो। आर्थिक अभावको कारण देखाउँदै धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणबाट पछि हटेपछि सोमबारको मन्त्रिपरिषद्को निर्णयसँगै रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ। सरकारले स्वामित्व लिएपछि रंगशाला निर्माणले गति लिनेमा स्थानीय विश्वस्त छन्। रंगशालाको काम रोकिएपछि स्थानीय निराश थिए। भरतपुर महानगरपालिकाले मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको थियो। मन्त्रिपरिषद्ले भुक्तानी गर्न बाँकी रहेको रकम अनुदानमा तिरेर स्वामित्व लिएको छ। धुर्मुस सुन्तली फाउन्डेसनले १८ करोड ४१ लाख ऋण भएको जनाएको छ। सरकारले अनुदानका रुपमा १२ करोड रुपैयाँ तिरेर निर्माणको काम अघि बढाउने भएको हो। भरतपुर महानगर वा खेलकुद मन्त्रालयमार्फत निर्माण अघि बढाउने भन्नेमा छलफल चलिरहेको छ। ‘रंगशालाका लागि धेरैको पसिना मिसिएको छ। काम बन्द हुँदा नरमाइलो भएको थियो’, स्थानीय मीना लामिछानेले भनिन्, ‘सरकारले बनाउने भनेपछि खुसी लागेको छ। अब छिटो बने हुन्थ्यो।’ भरतपुर महानगरपालिकाले आर्थिक स्रोतका लागि संघीय सरकारलाई आग्रह गरेको छ। बाँकी निर्माणको काम खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को जिम्मेवारीमा काम अघि बढाउने तयारी भएको जनाइएको छ। ‘लामो समयदेखिको निरन्तर प्रयासले सार्थकता पाएको छ। ऋण चुक्ता गर्न नसक्दा काम रोकिएको थियो। मन्त्रिपरिषद्को निर्णयपछि बजेट अनुसार काम अघि बढाउन खेलकुद मन्त्रालय र राखेपसँग कुरा राखेको छु’, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भनिन्, ‘अब छिट्टै बहुवर्षीय परियोजनाका रुपमा टेन्डर अगाडि बढ्ने छ।’ सरकारको निर्णयको खेलप्रेमीले स्वागत गरेका छन्। बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीले रंगशालाको निर्माणले आशा जगाएको बताए। ‘देशकै ठूलो परियोजनाको काम सरकारले गर्नुपर्छ भन्ने होे। आज हाम्रो अभियान सफल भएको छ’, उनले भने, ‘सरकारले स्वामित्व लिनु खेलप्रतिको सरकारको सम्मान हो। हामी खुसी छौं।’ रंगशाला निर्माणका क्रममा फाउन्डेसनले भुक्तानी गर्न बाँकी रहेकाले निर्माणको काम रोकिएको थियो। विभिन्न व्यक्ति र संस्थालाई १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको फाउन्डेसनले जनाएको छ। सरकारले भने १२ करोड रुपैयाँ अनुदान ब्यहोरेर निर्माणको स्वामित्व लिएको हो। रंगशाला निर्माणको लागि भरतपुर महानगरपालिकाले २० बिघा ६ कट्ठा जग्गा उपलब्ध गराएको छ। २०७५ माघ १६ गते महानगरपालिका र फाउन्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख छ। रकम तिर्न नसकेपछि २०७७ साउनदेखि रंगशाला निर्माणको काम रोकिएको छ। फाउन्डेसनले अहिलेसम्म ३५ प्रतिशत काम सम्पन्न भएको जनाएको छ। प्यारापिटको पहिलो चरणको काम सकिएको छ। तीन हजार दर्शक क्षमता भएको प्यारापिटका लागि दुई सय ८६ वटा पिलर उठाउँदै चौरमा दुबो गाड्ने काम भइरहँदा निर्माण रोकिएको थियो।

Like