एमाले सरकारबाट पूर्ण रूपले बाहिरियो, मधेस सरकारमा जाने कांग्रेसको तयारी
रासंसा/काठमाण्डौ, चैत्र २१,
मुलुकमा नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ। नेकपा एमालेले मंगलबार समर्थन फिर्ता लिएर मन्त्री पदबाट राजीनामा दिएपछि कांग्रेस सरकारमा जाने तयारी गरेको हो। मधेस प्रदेश सरकारमा सहभागी रहेको नेकपा एमाले सरकारबाट बाहिरिएको हो। पुस २७ गते जसपा नेतृत्वको सरकारलाई समर्थन गरी सहभागी भएको थियो। सुरुमा सरकार नछाड्ने अडानमा रहेको एमालेले सरकारको समर्थन फिर्ता लिन लिएको हो। केन्द्रीय गठबन्धनमा भएको फेरबदलको असर प्रायः सबै प्रदेश सरकारमा परेको छ। मङ्गलवारको एमाले संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। उक्त निर्णय अनुसार एमालेबाट मन्त्री बनेका चार मन्त्रीसहित एक राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाइसकेका छन्। मधेस प्रदेशमा एमालेले सभामुखसहित चार मन्त्री र एक राज्यमन्त्री पाएको थियो। एमाले सरकारबाट हटेपछि केन्द्रमा सत्ता साझेदार रहेका दल नेपाली कांग्रेस र एकीकृत समाजवादी, लोसपा सहभागी हुने तयारीमा छन् । एमाले मधेस प्रदेशमा २३ सांसदसहित ठुलो दल हो । भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव ,गृह तथा सञ्चार मन्त्री सत्रुधन सिंह कोइरी ,महिला बालबालिका तथा खेलकुद मन्त्री जैद आलम ,कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले राजीनामा बुझाएका हुन।