राष्ट्रपतिमा आफ्नै वचनको चक्रव्यूहमा दाहाल

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन १०,

मुलुकका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निर्वाचनमा आफैंले अघि सारेका विकल्पको घेराबन्दीमा परेका छन् । एमालेसँगको समझदारी तोड्ने पृष्ठभूमि बनाउन माओवादी पदाधिकारीको बैठक बसाएका उनले निर्णयको सर्वाधिकार आफैंसँग राखेका छन् । उम्मेदवारी दर्ताका लागि दुई दिन मात्र बाँकी रहँदा उनले आफ्नो कार्यकालको अवधिलाई केन्द्रमा राखेर दायाँबायाँ गर्ने नीति लिएका छन् तर यसअघि लिएको बहुविकल्पको नीतिले उनैलाई असहज बनाउने देखिएको छ । १० पुसमा एमालेसँग समझदारी गरेका उनले स्थिति फेरिएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि आश्वासन दिएका थिए तर दाहाल अहिले कांग्रेससँग निर्णायक संवादमा छन् । अब, जुनसुकै विकल्प रोजे पनि बाँकी पक्षलाई उनीबाट धोका हुने भएको छ । माओवादी उपमहासचिव शक्ति बस्नेत पनि राष्ट्रपति निर्वाचनको हिसाबकिताब निकाल्न सजिलो नभएको बताउँछन् । ‘पुस १० को सहमतिमा सामेल स्वतन्त्र पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकार बाहिर छन् । यो परिस्थितिलाई पनि नजरअन्दाज गर्न मिल्दैन,’ उनले भने, ‘यो अवस्थामा फ्याट्ट हिसाबकिताब निकाल्न सजिलो छैन । मनोनयन गर्ने दिन फागुन १३ अघि हिसाब निस्कन्छ ।’ राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल ओलीले ‘च्याँखे’ थाप्न मात्र नेपाललाई प्रस्ताव गरेको हुन सक्ने बताउँछन् । ‘माधव नेपाललाई प्रस्ताव गरेपछि प्रचण्डलाई अप्ठ्यारो पर्छ भन्ने बुझाइ हुन सक्छ,’ उनले भने । तर, यही उद्देश्य नै हो भने पनि उनी त्यसमा तत्काल सफल भएका छन् । प्राध्यापक बराल पनि राष्ट्रपति निर्वाचनलाई रणनीतिक मुद्दा बनाउन खोज्दा दाहाल चेपुवामा पर्न सक्ने ठान्छन् । ‘विगतमा राष्ट्रपतिले आफ्नो दायित्व बिर्सेर राजनीतिक शक्ति अभ्यास गरेकाले हाल ठूलो मुद्दा बनेको छ । राष्ट्रपति चयनमा ठूलो चलखेल हुने कारण पनि यही हो,’ उनी भन्छन्, ‘तर, राष्ट्रपतिलाई रणनीतिक मुद्दा बनाउन खोज्दा प्रचण्ड अप्ठ्यारोमा फस्न सक्छन् ।’ ओलीले ‘पार्टी एकता गर्ने गरी’ सर्तमा राष्ट्रपतिमा नेपाललाई समर्थन गर्ने प्रस्ताव गरेपछि दाहाल मझदारमा परेका हुन् । ‘माधवजीलाई राष्ट्रपतिको उम्मेदवार बनाउन खोज्ने तर एमालेले अस्वीकार गरेको भन्दै अर्को विकल्पमा जाने प्रचण्डजीको नीति रहेछ, हाम्रा अध्यक्ष केपी शर्मा ओलीले सिधै माधवजीलाई उम्मेदवार बनाउने प्रस्ताव गरेपछि उहाँ अप्ठ्यारोमा पर्नुभएको छ तर कित्ता क्लियर त गर्नैपर्‍यो,’ एमालेका एक पदाधिकारीले भने । ओलीले सोमबार नेपालसँग चार घण्टा संवाद गरेर उनैलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेका हुन् । ‘कांग्रेस र माओवादी इमानदार हुन् भने उहाँहरूकै गठबन्धनका सहकर्मी माधवजीलाई राष्ट्रपति बनाउन के अप्ठ्यारो हो ? धोकाको राजनीति हो भने त्यो पनि खुल्ने बेला आयो,’ ती नेताले भने । ओलीको वचन पाएपछि उत्साहित बनेका नेपालले अब सहकर्मीहरूको परीक्षा हुने चेतावनी पनि दिएका छन् । बुधबार दाङमा उनले खुलेरै भने, ‘पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ । सधैंभरि बलिदानी दिने, अरूले फाइदा लिने कुरा हुन सक्दैन ।’ एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा पनि राष्ट्रपतिमा आफ्नो पार्टीको दाबी रहने बताउँछन् । ‘हाम्रो मतले अरूले जित्दै आएका छन्, यस पटक राष्ट्रपति हामीलाई दिनुपर्छ,’ उनले भने, ‘यो प्रस्ताव सबै दलसमक्ष हो ।’ उता, ओलीको प्रस्तावमा राष्ट्रपति बनेपछि भोलि माधव नेपाल कोप्रति उदार होलान् भन्ने छलफल कांग्रेस र माओवादीभित्र भइरहेको छ । ‘राष्ट्रपति त संवैधानिक पद हो तर हाम्रो अभ्यास उत्साहजनक छैन । भोलि माधवजी राष्ट्रपति हुने र एकीकृत समाजवादी र एमाले मिल्ने हो भने कांग्रेस त भूमिकाविहीन हुन्छ, त्यसैले हामी यो बाटोमा जाँदैनौं, माओवादीलाई पनि त्यो बाटोमा जान रोक्ने नीति हुन्छ,’ कांग्रेसका एक नेता भन्छन् । दाहालले प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकाल कम्तीमा चार वर्ष पुर्‍याउने गरी सहकार्य गर्न खोजेको कांग्रेस नेताहरूको भनाइ छ । ‘आफ्नै सुरक्षाका लागि उहाँ कांग्रेससँग नजिकिनुभएको हो । राष्ट्रपति र सभामुख दुवै एमालेबाट भएपछि आफ्नो हातखुट्टा बाँधिने भन्दै उनी गैरएमाले उम्मेदवारको पक्षमा छन् । तर माधव नेपाललाई एमालेले नै प्रस्ताव गरेकाले अब प्रचण्डजी झस्कनुभएको छ,’ कांग्रेसका एक पदाधिकारीको भनाइ छ । माओवादी महासचिव देव गुरुङ भने पार्टीले राष्ट्रपतिको उम्मेदवार नउठाउने भएकाले कांग्रेस, एमाले वा अरू कुनै दलको प्रस्ताव स्विकार्ने बताउँछन् । यसअघिका राष्ट्रपति विवादमा आएको भन्दै यसपालि माओवादीले राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेको उनको भनाइ छ । ‘दलीय मान्यताभन्दा माथि संविधान, राष्ट्रियताको पक्षमा उभिने राष्ट्रपति चाहिएको हो,’ उनले भने । राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्तावलाई समर्थन गर्दै लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई उम्मेदवारका रूपमा अघि सारेको छ । बालुवाटारमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटमा स्पष्ट प्रस्ताव राखिएको नेता राजेन्द्र महतोले जानकारी दिए । ‘प्रधानमन्त्रीजीले राष्ट्रपतिमा सहमतिको उम्मेदवार चाहिन्छ भन्नुभएको छ । त्यसमा हाम्रो समर्थन छ,’ उनले भने, ‘राष्ट्रिय सहमतिको पात्र महन्थ ठाकुर पनि हुन सक्नुहुन्छ भन्यौं । ठाकुरको नाउँमा सहमति गराउन सजिलो होला कि भनेर हामीले उहाँलाई आग्रह गरेका थियौं ।’ प्रधानमन्त्री दाहालले राष्ट्रपतिका लागि ठाकुर पनि उपयुक्त पात्र भएको जवाफ दिएको भनाइ छ । ‘ठाकुर राष्ट्रिय सहमतिको उम्मेदवारका रूपमा उपयुक्त पात्र हो भन्ने उहाँको भनाइ थियो । तपार्इंहरूले नयाँ प्रस्ताव ल्याउनुभएको होइन, उहाँ त स्थापित नाम नै हो भन्नुभयो,’ महतोले भने । ‘प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्छ भन्ने धारणा दोहोर्‍याउनुभयो तर उहाँले कसैको नाम लिनुभएन, म छलफलमै छु महतोले भने ।

Like