प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
रासंसा/काठमाण्डौ, पौष ३०,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्षबीच भेटवार्ता भएको छ। शनिबार बिहान प्रधानमन्त्री र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो। आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ। नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ। साे भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए। ओलीले प्रधानमन्त्रीसँगको भेटवार्तालाई बाक्लाे बनाएका छन्। पौष २६ गते नेपाली काँग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि खुशी नभएका ओलीले प्रधानमन्त्रीलाई निरन्तर भेटिरहेका छन्।