९६ सिटमा ६ महिला मधेस प्रदेशमा निर्वाचित
रासंसा/काठमाण्डौ, मार्ग १७,
मुलुकमा ४३ सिट समानुपातिकसहित १०७ मधेस प्रदेशसभामा संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता पु र्याउन ३५ सिट चाहिन्छ। मधेसको ३२ प्रतिनिधिसभा र ६४ प्रदेशसभा निर्वाचन क्षेत्रको नतिजामा ४ सिटमा मात्र महिला विजयी भएका छन्। यसले मधेस प्रदेशसभामा महिला सहभागिता पु र्याउन समानुपातिककै भर हुन्छ। अन्य ३१ महिला संसदमा लैजान राजनीतिक दल र निर्वाचन आयोगलाई संवैधानिक बाध्यता छ। मधेसको ३२ प्रतिनिधि र ६४ प्रदेशसभा गरी कूल ९६ सिटमा ६ जना मात्र महिला उम्मेदवार निर्वाचित भएका छन्। मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ एमाले, लोसपा र एकीकृतत समाजवादी र स्वतन्त्र गरी ४ जना निर्वाचनमा विजयी भएका छन्। नेकपा (एमाले)की महोत्तारी निर्वाचन क्षेत्र १ ‘क’ बाट शारदा थापा, महोत्तारी २ ‘ख’ बाट स्वतन्त्र सुरिता साह, महोत्तारी ३ ‘ख’ बाट लोसपाकी रानी शर्मा तिवारी र सर्लाही १ को ‘ख’बाट एकीकृत समाजवादीकी बेची लुंगेली निर्वाचित भएकी छन्। निर्वाचित महिलामा ४ प्रदेशसभा र २ प्रतिनिधि सभामा विजयी हुन।चुनावी मैदानमा ठूला दल एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी जसपा र लोसपाले महिलालाई अवसर दिएनन। जसका कारण महिला सहभागिता न्यून हुन पुगेको छ। मधेसमा प्रदेशसभातर्फ कुल ९९८ जना उम्मेदवारमध्ये ९२९ जना पुरुष र ६९ जना महिलाले उम्मेदवार थिए। जसमा अधिकांश महिला उम्मेदवार साना दलबाट र २१ जना स्वतन्त्र थिए। निर्वाचित चारै महिला सांसद यसअघि पनि प्रदेशसभा सांसद थिए। अहिलेको निर्वाचन हेर्दा महिलालाई प्रत्यक्षतर्फ अवसर दिन अनुदार देखिएको महिला अधिकारकर्मी अधिवत्ताmा रेखा झाको भनाइ छ। ‘यसको अर्थ सिधा जान्छ महिलालाई विश्वास नगर्नु वा महिलाले चुनाव जित्न सक्दैन भन्ने मानसिकताबाट ग्रसित हुनु हो,’ झाले भनिन, ‘अन्य देशहरूमा महिला प्रत्यक्ष राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म भइसके। हाम्रो देशमा भने महिला उम्मेदवार नै हुन नदिने प्रवृति लज्जास्पद छ।’ ज्वालाकुमारी साह भने अघिल्लोपटक प्रदेश सांसद थिए भने यसपटक बारा ३ बाट संघीय सांसदमा निर्वाचित भएकी छन्। यसैगरी धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन्। अब प्रदेशसभामा ३३ प्रतिशत महिला सांसद पु र्याउन ३१ महिला समानुपातिकबाट चुनिनुपर्नेछ। प्रदेशसभा समानुपातिकतर्फ सदर मतको एक दशमलव पाँच प्रतिशतभन्दा बढी मत पाएका दलहरूले ३१ महिलालाई प्रदेश सांसद बनाउँने छन्। प्रत्यक्षमा १ सिट भए पनि जितेका दललाई समानुपातिक केही सहज भए पनि अन्य दललाई गाह्रो देखिन्छ। अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५ सिटमा विजयी महिला यसपटक पनि दोहोरिएका छन्। जसमध्ये बाराबाट ज्वालाकुुमारी साह प्रतिनिधिसभामा निर्वाचित भएकी छन्। पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकी महोत्तरीकी सुरिता निर्वाचित भएकी हुन। महोत्तरी निर्वाचन क्षेत्र नं. २(ख) बाट प्रदेशसभाका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएकी साह दोस्रो कार्यकालका लागि चयन भएकी हुन्। साहले सतारुढ गठबन्धनका साझा उम्मेदवार तथा कांग्रेसका जिल्ला सभापति नागेश्वर यादवलाई १ हजार ७६७ मतान्तरले हराएकी हुन्। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार नेतृ साहले ८ हजार ५६८ मत पाएकी छन्। उनका निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ८०२ मत ल्याएका हुन्। उनको निर्वाचन क्षेत्रमा उनीसँगै अन्य २० जना उम्मेदवारहरूप्रतिस्पर्धामा छन्। अन्य चार भने प्रदेशसभा निर्वाचित भएका छन्। मुख्यतः ठूला दलले संघीय तथा प्रदेशसभामा उम्मेदवार नै नबनाएका कारण प्रतिस्पर्धी नै बन्न नपाएपछि चुनाव जित्ने कुरै आउँदैन। प्रदेशसभातर्फ महोत्तरी निर्वाचन क्षेत्र नं. ३ (ख) का लागि रानी शर्मा तिवारीलाई दोस्रोपटक प्रदेशसभा सदस्यका लागि जनमत प्राप्त भएको छ। सतारुढ गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएकी तिवारीले ६ हजार ४१४ मत ल्याएर विजयी भएकी हुन्। उनी २६ जना प्रतिस्पर्धीलाई पराजित गरेर यसपटक दोस्रो कार्यकालको लागि प्रदेशसभामा चयन भएकी हुन। तिवारी २०७४ सालको निर्वाचनमा पनि विजयी भएकी थिइन्। महिलालाई अवसर दिए हरेक भूमिका निर्वाह गर्न सक्षम रहेका महिला अधिकारकर्मी ममताकुमारी महतो बताउँछिन। ‘चाहे गृहणी होस या राजनितीक फाँट नै किन नहोस्। ३३ प्रतिशत अधिकार संविधानले प्रदान गरेकोमा अब त्यसको कार्यान्वयनका लागि महिला नेतृत्व आवश्यक छ। महिलाले गर्न सक्दैनन भनेर अगाडि नै रोक्ने प्रयास नगरौं,’ उनले भनिन्। एमालेको तर्फबाट महोत्तरी क्षेत्र नं. १(क) को तर्फबाट उम्मेदवारी दिएकी शारदादेवी थापा दोस्रो कार्यकालका लागि चुनिएकी हुन्। जसपा एमाले वामगठबन्धनका उम्मेदवार रहेकी थापाले सतारुढ ५ दलीय गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतोलाई पराजय गरेकी हुन। थापा ८ हजार ३०४ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन्। २०७४ मा पनि उनी यही पार्टीबाट निर्वाचित भएकी थिइन्। अवसर पाएको खण्डमा महिला हरेक तरहको प्रतिस्पर्धामा आफनो पकड मजबुत बनाउन सक् छन् भन्ने यी महिलाको जितले देखाएको अधिकारकर्मी सविता यादवको भनाइ छ।