‘गाउँमा पानी र सडक पुर्याए भोट’
रासंसा/कालिकोट, कार्तिक २७,
मुलुकमा कालिकोट जिल्लाको दुर्गम भेगमा पर्ने पलाँता गाउँपालिका-२ बान्जाडा गाउँकी छायाँ प्याकुरेललाई विगत लामो समयदेखि पानीकै पिरलो छ। ‘गाउँमा खानेपानी नहुँदा धेरैले बसाइँसराइ गरेर गाउँ नै छाडे। सरकारबाट अहिलेसम्म पनि खानेपानी पाइएन।’
गाउँमा तरकारी खेती, सिँचाइ, गाईबस्तुलाई पानी दिने त कुरै नगरौं, घरमा खाना पकाउनका लागि पनि प्रशस्त पानी नपाइने गरेको छायाँ बताउँछिन्। घरघर भोट माग्न पुग्नेमा नयाँ उम्मेदवारसँगै यही क्षेत्रबाट पटकपटक चुनाव जितेका नेता पनि छन्। ‘अहिलेसम्म चुनाव जितेर गएकाले अरू काम त गरे होलान् तर गाउँमै खानेपानीको व्यवस्थाचाहिँ गरेनन्’, छायाँ भन्छिन्, ‘गाउँमा खानेपानी भएको भए बसाइँसराइ गरेर जाँदैनथें। हामीलाई समस्या हुन्थेन, नागरिकले दुःख पाउँदैनथे। आफैंले जिताएका नेतालाई सराप्नुपर्दैनथ्यो।’ कालिकोटको निर्वाचन क्षेत्र नं २ मा पर्ने यो ठाउँ सदरमुकामभन्दा निकै टाढा छ। बान्जाडामा मात्र होइन, लार्फा, खिन, धैलागोहभरि नै खानेपानी, सडक, शिक्षा र बिजुली नपुगेको मतदाता बताउँछन्। खानेपानी, स्वास्थ्य र गाडी चल्ने सडकचाहिँ यहाँका मुख्य आवश्यकता हुन्। बान्जाडाका धनजन सेजुवालले राजनीतिक दलका उम्मेदवार गाउँमा अहिलेसम्म भोट माग्न मात्र आउने गरेको बताउँछन्। उनले भने, ‘अहिलेसम्म दलका नेतालाई जिताइयो, उनीहरूले गर्न त गरे होलान् कसैका लागि; तर हामीजस्ता सर्वसाधारण नागरिकले कहिले गाउँमै खानेपानी पाउने ?’