विश्वकपको फाइनलमा १३ वर्षपछि पाकिस्तान
एजेन्सी, कार्तिक २३,
विश्वमा कप्तान बाबर आजम र मोहम्मद रिजवानको अर्धशतकप्रेरित पाकिस्तान सेमिफाइनलमा न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै १३ वर्षपछि आईसीसी टी–ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको छ। पाकिस्तानका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले। कप्तान आजम र विकेटकिपर ब्याटर रिजवानले पहिलो विकेटका लागि एक सय पाँच रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। बुधबार सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रनको योगफल तयार गरेको थियो। जवाmपी ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पाकिस्तानका लागि ४२ बलमा सात चौकासहित ५३ रन जोडेर कप्तान आजम पेभेलियन फर्केका थिए। रिजवानले ४२ बलमा पाँच चौकासहित ५७ रनको अर्धशतकीय इनिङ खेले। बलिङतर्फ न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले चार ओभरमा ३३ रन खर्चेर दुई विकेट लिए। अन्य बलर विकेटविहीन रहँदा न्युजिल्यान्डले एक सय ५२ रनको योगफल जोगाउन सकेन। मोहम्मद ह्यारिस २६ बलमा दुई चौका र एक छक्कासहित ३० रन बनाएर पेभेलियन फर्किँदा शान मसुद दुई रन र इफ्तिखार अहमद शून्यमा अविजित रहे। सुपर–१२ बाट समूह ‘एक’को विजेता बन्दै न्युजिल्यान्डले अन्तिम चारमा स्थान बनाएको थियो। समूह ‘दुई’मा दुई खेल पराजित भएर पनि पाकिस्तान रोमाञ्चक ढङ्गले उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। पाकिस्तानले भोलि (बिहीबार) हुने भारत र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार उपाधिका लागि खेल्ने छ।
सन् २००७– पहिलो संस्करणको फाइनलमा पुगेको पाकिस्तान भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
सन् २००९– लगातार दोस्रो पटक फाइनलमा पुगेको पाकिस्तानले फाइनलमा श्रीलंकालाई पराजित गर्दै उपाधि नै जितेको थियो ।
सन् २०१०– सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित भएको पाकिस्तान सेमिफाइनलबाट बाहिरिएको थियो ।
सन् २०१२– सेमिफाइनलमा श्रीलंकासँग पराजित हुँदै पाकिस्तान फेरि एकपटक अन्तिम चारबाट बाहिरिएको थियो ।
सन् २०१४– समूह ‘दुई’मा परेको पाकिस्तान पहिलो पटक टी–ट्वेन्टी विश्वपकको सेमिफाइनल पुग्न असफल भएको थियो ।
सन् २०१६– लगातार दोस्रो पटक समूह ‘दुई’बाट पाकिस्तान सेमिफाइनलमा घर फर्किएको थियो ।
सन् २०२१– लगातार दुई संस्करणसम्म समूह चरणमा सीमित हुँदै आएको पाकिस्तानले फेरि सेमिफाइनलमा स्थान बनाएको थियो । तर, त्यो संस्करणको च्याम्पियन अस्ट्रेलियासँग पराजित हुँदा फाइनलमा पुग्न असफल भयो । सन् २०२२– समूह चरणका दुई खेलमा पराजित भएपछि घर फर्किेन अवस्था नजिक पुगेको पाकिस्तान अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै रोमाञ्चकरुपमा सेमिफाइनलमा पुगेको थियो। बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको छ।