धान निर्यातमा भारतले दियो छुट

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १९,

मुलुकमा भारतले नेपाल पठाउने धानमा लाग्दै आएको २० प्रतिशत भन्सार शुल्क हटाउने भएको छ। भारतको राजस्व विभागले नेपाल निर्यात हुने ६ लाख टन धानमा छुट दिने जनाएको हो। ‘भारतले गत भदौमा धान, चामल निर्यातमा कडाइ गरेपछि नेपाल सरकारले सो वस्तुमा भन्सार नलगाइदिन गरेको थियो’, उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी भन्छन्, ‘अहिले सम्बोधन भयो।’ उद्योग मन्त्रालयले असोजमा भन्सार छुट गर्न अनुरोध गरेको उनले बताए। ‘भारतबाट आयातमा शुल्क बढी लाग्ने भएपछि बजारमा स्वाभाविक तथा अस्वाभाविक भएको मूल्यवृद्धि विस्तारै नियन्त्रण हुन्छ’, उनले भने। यसले नेपाललाई केही हदसम्म राहत पुग्ने भन्सार विभागले बताएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा भारतले छुट दिएको हो। ६ लाख टनभन्दा बढी ल्याउँदा भने २० प्रतिशत नै शुल्क लाग्नेछ। कनिका, गहुँमा भने भारतले प्रतिबन्ध कायमै राखेको छ। भारतले नेपालमा निकासी गर्ने परिमाणात्मक बन्देज लगाएर गरेको भन्सार छुट दिएपछि नेपालमा चामल केही सस्तो हुने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए। अन्तर्राष्ट्रिय स्तरमा युद्ध भइरहेको अवस्थामा ठूलो जनसंख्या भएको भारतले आफ्ना जनताका लागि खाद्य सुरक्षा गर्न कडाइ गर्नु स्वाभाविक रहेको उनले बताए। ‘यद्यपि अहिले नेपालको अनुरोधमा परिमाणात्मक छुट दिनु छिमेकीप्रति गरिएको सहयोग हो। यसले यहाँ पनि चामलको मूल्य घट्ला,’ उनले भने। नेपालमै वार्षिक ५५ लाख मेट्रिकटन उत्पादन हुने गरेको छ। ‘गत वर्ष बेमौसमी वर्षले गर्दा ४ लाख टन घटेर करिब ५१ लाख मेट्रिकटन उत्पादन भएको थियो। नेपालको जनसंख्याअनुसार ५–६ लाख टन मात्रै अपुग हुने हो। तर नेपालमा दाना बनाउनदेखि विभिन्न खाद्य तथा गैरखाद्यवस्तुको औद्योगिक उत्पादनका लागि पनि आयात हुने गरेकाले धान तथा चामल बढी आयात हुने गरेको हो,’ डा. सञ्जेलले भने। नेपालमा हालसम्म १५ लाख हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको कृषि मन्त्रालयले जनाएको छ। भारतको निकासीमा कडाइ र नेपालको भन्सारमा कृषिसुधार शुल्क तथा अग्रिम आयकर शुल्क तिर्नुपर्दा चामलको मूल्य महँगो परिरहेको थियो। तर धानमा दिएको छुटले सस्तो पर्न जानेछ। गत आर्थिक वर्षमा बेमौसमी वर्षाले क्षति पुर्‍याएकाले धान उत्पादनमा कमी आउँदा बढी आयात गर्नु परेको कृषि मन्त्रालयका प्रवक्ता डा.प्रकाशकुमार सञ्जेलले बताए। यसपटक त्यस्तो ह्रास नभएकाले आन्तरिक उत्पादनमा वृद्धि हुने उनको अनुमान छ। यस अवधिमा धानको बीउका लागि भारतबाट हुने आयात शून्य नै रह्यो। तर उपभोगका लागि भारतबाट मात्रै ल्याउने पोलिस लगाएका वा नलगाएका चामलको आयात भने वृद्धि भएको देखिन्छ। यसरी शुल्क तिरेरै भए पनि आयात गर्नैपर्ने बाध्यताले बजारमा चामलको मूल्य बढेको व्यवसायी बताउँछन्। भारतले निकासीमा भन्सार शुल्क तोकेर कडाइ गरेपछिको अवधिमा नेपालमा धान आयात ह्वात्तै घटेको छ। साउनमा भारतबाट १ अर्ब ७० करोड रुपैयाँबराबरको धान आयात भएको थियो। तर असोजमा ३८ करोड ७५ लाख रुपैयाँबराबरको मात्रै आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

Like