चिडियाघर सञ्चालनदेखि निःशूल्क बीमासम्म, प्रदेश १ एमालेको २६ बुँदे प्रतिबद्धता

Share to:

रासंसा/बिराटनगर, कार्तिक १९,

मुलुकमा आगामी संसदीय निर्वाचनलाई दृष्टिगत गर्दै नेकपा एमाले १ नम्बर प्रदेश कमिटीले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। प्रदेशलाई आत्मनिर्भर बनाउने, संविधान प्रदत्त अधिकारहरूको प्रदेश अन्तर्गत ल्याउने, प्रदेशको नामकरण र प्रादेशिक संरचना निर्माण गर्ने, विराटनगरलाई आर्थिक राजनीतिमा रूपान्तरण गर्ने, पहाडी र हिमाली जिल्लामा विभिन्न अवसर सिर्जना गरी बसाइँसराई दर घटाउने, प्रदेशस्तरीय खुल्ला चिडियाघर सञ्चालन गर्ने, जलवायु परिवर्तन र अनुकुलनका योजनाहरू सञ्चालन गर्ने, कृषिमा आधुनिकीकरण गर्ने तथा बृहत् विराट क्षेत्र सम्बन्धी ऐन सञ्चालनमा ल्याउने लगायतका योजनाहरू प्रतिबद्धता पत्रमा अटाईएका छन्। शनिबार विराटनगरमा एमाले प्रदेश कमिटीले २८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो। प्रतिबद्धता पत्रमा प्रादेशिक विकासका मुख्य एजेण्डाहरू २६ बुँदामा समेटिएका छन्। प्रतिबद्धता पत्रमा आर्थिक अनुशासन र भ्रष्ट्राचारमा शून्य सहनशीलता लगायतका विषयलाई पनि प्राथमिकतामा राखिएको प्रतिबद्धता पत्र तयारी समितिका सचिव यज्ञराज शर्माले बताए। प्रतिबद्धता पत्रमा विराटनगर शासन प्रणालीमा सुधार, पहाडी व्यापारिक केन्द्र निमार्ण र आर्थिक विकासका योजनाहरूलाई प्राथमिकता प्रदान गरिएको छ। आफ्नो ३ वर्षे कार्यकालमा गरेका कार्यहरूलाई प्रमुख उपलब्धिको रूपमा बिश्लेषण गरेको एमालेले पुरा हुन नसकेको केही योजनाहरूलाई समेत आगामी कार्यकालमा पूर्णता प्रदान गर्ने प्रतिबद्धता गरेको छ। एमालेले मध्यपहाडी लोकमार्गका क्षेत्रमा अर्गानिक कृषि उत्पादन र हाइ अल्टिच्युड खेल सञ्चालनका निम्त्ति पूर्वाधार निर्माणको प्रतिबद्धता समेत गरेको छ। धार्मिक एवं सांस्कृतिक सर्किटको विकास, विद्युत् उत्पादन तथा पर्यटन प्रर्वद्धन, पहाडी जिल्लामा नियमित हवाई सेवा सञ्चालन, गरिबीको रेखामुनि रहेका नागरिकलाई परिचय-पत्र वितरण, डिनजिटल साक्षरता, मानव संशाधन विकास बैंक स्थापना, विपन्न परिवारका छोरीको निरन्तर शिक्षाका निम्त्ति छोरी शिक्षा बिमा र बाढीग्रस्त क्षेत्रहरूमा तटबन्धन निमार्णका योजनाहरू समेत एमालेले अघि सारेको छ। एमाले प्रदेश कमिटीका सह-इन्चार्ज जीवन घिमिरेले प्रतिबद्धता मार्फत् एमालेले प्रदेशलाई विकास र समृद्धिको बाटोतर्फ डोर्‍याउन खोजेको बताए। पछिल्लो ५ वर्षको समीक्षा गर्दै उहाँले शुन्यबाट सुरु भएको प्रदेश सरकारले एउटा आकार ग्रहण गर्नु उपलब्धिमुलक भएको जिकिर गरे। एमालेले सूचना प्रविधिमा आधारित आधुनिक सुरक्षा व्यवस्था र तथ्यांक केन्द्र अर्थात् डाटा बैंक स्थापनाको विषयलाई समेट समेटेको छ। एमालेको प्रतिबद्धता पत्रमा रोजगारी बैंकमार्फत बेरोजगार यूवाहरूलाई रोजगारी प्रदान र वैदेशिक रोजगारीमा जान चाहने नागरिकका लागि ‘मेरो पसिना, मेरो प्रदेश’ कार्यक्रम सञ्चालन गर्ने विषय समेत उल्लेख गरिएको छ। कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय सदस्य रामलाल साह र प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने लगायतका नेताहरू सहभागी थिए।

Like