वीरगन्जमा मधेश विश्वविद्यालय स्थापना
रासंसा/पर्सा, भाद्र २४,
मुलुकमा वीरगन्जवासीले २५ वर्ष अगाडिबाट वीरगन्जमा नै विश्वविद्यालय स्थापना होस् भन्ने चाहेको सपना बल्ल साकार भएको छ । अढाइ दशकबाट यो क्षेत्रका बुद्धिजीवी, वीरगन्ज उद्योग वाणिज्य संघ, र स्थानीय नेताले तत्कालीनको सरकारसँग समेत वीरगन्जमा विश्वविद्यालय स्थापनाको लागि लविङ गरेका थिए । विश्वविद्यालयको सञ्चालनार्थ वीरगन्जकै शिक्षाविद् डा. दीपक शाक्यलाई मधेस प्रदेश सरकारले उपकुलपति पनि नियुक्त गरिसकेको छ । बुधबार साँझ यहाँ गरिएको भव्य विश्वविद्यालय स्थापना उद्घाटन समारोहमा यो प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले उपकुलपति डा. शाक्यलाई नियुक्तपत्र प्रदान गरे । यो कार्यले अब वीरगन्जवासीको चाहनाले मूहुर्तरूप धारण गरेको ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उमेर चौरसियाले राजधानीसँग बताए । नेपाल सरकार भएपछि पनि ती सरकारका नेतृत्वकर्ता दलका अगुवासँग वीरगन्जमा विश्वविद्यालय स्थापनाका लागि जोडबल गरिएकै थियो । तर, संघीय संरचना बनेपछि बल्ल मधेस प्रदेश सरकारले आगामी निर्वाचनलाई पनि लक्षित गर्दै वीरगन्जवासीको चाहनामा मलमपट्टी लगाएको हो । मधेस प्रदेश सरकारले यो प्रदेशमा पहिलो विश्वविद्यालयका रूपमा भने मधेस विश्वविद्यालय स्थापना गरेको चाहिँ होइन । अन्य दुर्ई विश्वविद्यालयपछि मुलुकको समेत आर्थिक राजधानी कहलिएको वीरगन्जले बल्ल आफ्नै ठाउँमा विश्वविद्यालयको बोर्ड देख्न पाएको हो । यसको विधिवत उद्घाटन पनि बुधबार साँझ भिस्वा होटलमा मधेस विश्वविद्यालय स्थापना सभा उद्घाटन कार्यक्रम र बिहीबार बिहान क्याम्पस स्थापना भएको वीरगन्जको नेसनल ट्रेडिङ परिसरमा नै पुगेर गरिएको छ । मुलुकको नयाँ संरचना बन्नुपूर्व २०६३ सालतिर पनि पर्साका ८२ गाविसमध्ये धेरैसँग वीरगन्ज विश्वविद्यालयको स्थापनाका लागि भनी यहाँको हरिखेतान क्याम्पसका क्याम्पस प्रमुख डा. भगवान यादवको संयोजकत्वमा बनेको एउटा समितिले करोडौं रकम संकलन गरिएको थियो । सो रकम अहिले बैंक खातामा सुरक्षित छ कि छैन ? भन्ने वीरगन्जवासीले चासोका साथ हेरिरहेका छन् । यो पैसाको लेखाजोखा केही पनि त्यो समितिले सार्वजनिक नगरेपछि वीरगन्जवासी सशंकित भएका छन् । समितिका मानिस भने उक्त रकम सुरक्षित रहेको दाबी गर्छन् । ऊ बेला पर्साको गण्डक नजिक चिनीमिलको जग्गामा विश्वविद्यालय सञ्चालन गर्ने धेरै सम्भावना रहेको चर्चा चलाइएको थियो । तर, त्यो लक्ष्य साकार हुन नसक्दै मधेस प्रदेश सरकारले देखिने कामका रूपमा मधेस आन्दोलनको केन्द्रबिन्दु वीरगन्जमा एउटा मधेस विश्वविद्यालय स्थापना गर्न सकेको छ । यो विश्वविद्यालय स्थापना कार्यक्रममा मधेस प्रदेशकै मन्त्रीले समेत साथ नदिएको समयमा विधेयक ल्याएरै अलि बढी आफूले दबाब दिएर भए पनि आफ्नो जोडबलमा विश्वविद्यालय स्थापना गरिएको मुख्यमन्त्री गद्दीले बताए । मधेस विश्वविद्यालय स्थापनाको उद्घाटन समारोहमा मुख्य अतिथि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यो विश्वविद्यालयलाई साइन्स र नयाँ टेक्नोलोजीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । लहान र विराटनगरका आँखा अस्पतालको उदाहरण दिँदै अध्यक्ष यादवले राम्रो क्वालिटी दिन सके छिमेकी मुलुकबाट पनि विद्यार्थीहरू आउने तर्क गरे । मधेसको विश्वविद्यालय भएका कारण यस क्षेत्रको विशेष पहिचान दिने खालको विश्वविद्यालय बनाउनुपर्नेमा पनि उनले जोड दिए । उनी बिहीबार बिहान क्याम्पस परिसर रहने नेसनल ट्रेडिङ परिसरमा पुगी क्याम्पसको बोर्ड अनावरण कार्यमा सरिक पनि भए । निर्वाचनको मुखमा पूर्वाधारको खोजीबिना नै वीरगन्जको नेसनल ट्रेडिङ परिसरमा मधेस विश्वविद्यालयको बोर्ड राखिएप्रति यहाँका स्थानीय अन्य राजनीतिक ददका नेता कार्यकर्ताले काम पवित्र भए पनि निर्वाचनलाई लक्षित गरी हतारमा उद्घाटन गरिएको तर्क गरेका छन् । काठमाडांै विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र टियुका पूर्वउपकुलपतिलगायतको विशेष उपस्थितिमा भएको मधेस विश्वविद्यालय स्थापना समारोहमा वन तथा वातावरणमन्त्री प्रदिप यादवले वीरगन्जका अधिकांश शैक्षिक संस्था स्थानीय समाजसेवी र दाताको सक्रियतामा बनेकाले यो विश्वविद्यालयको संवद्र्धन र प्रवद्र्धनमा पनि वीरगन्जवासीको साथ रहने बताए । उनले विभिन्न विश्वविद्यालयका विद्वान् र विज्ञको सुझाव लिँदै यो विश्वविद्यालयलाई मुलुकका अन्य विश्वविद्यालयभन्दा अझ स्तरीय बनाउनुपर्ने सुझाव दिए । लामो समयको प्रतीक्षापछि बल्ल एउटा विश्वविद्यालय वीरगन्जमा आएकाले यसको स्तरीय सञ्चालनका लागि करिब १ सय बिगा जमिनको खोजी भइरहेको र २ सय करोड सहयोग गर्ने दातासमेत तयार भएको विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यले बताए । कार्यक्रममा वीरगन्ज महानगरपालिकाका महानगरप्रमुख राजेशमान सिंहले यो विश्वविद्यालय वीरगन्जको शान भएकाले वीरगन्जवासीको छाती चौडा भएको महसुस गरेको बताएका छन् । अन्य विश्वविद्यालयबाट कार्यक्रममा सरिक हुन आइपुगेका पूर्व र वर्तमान उपकुलपतिले अबको सयय सुहाउँदो प्राविधिक शिक्षा र अनुसन्धानमुलक शिक्षामा जोड दिनुपर्ने बताए । यो विश्वविद्यालयको भविष्य राजनीतिका आडमा तालाबन्दी नभए मात्र सुरक्षित हुने उनीहरूको तर्क छ । यो विश्वविद्यालयलाई अहिलेबाट नै अन्य विश्वविद्यालयभन्दा फरक कोर्ष उत्पादन गर्दै जागिरे उत्पादन गर्नेभन्दा उद्यमी उत्पादन गर्न सक्ने जनशक्ति तयार गर्नुपर्ने उनीहरूको सुझाव छ ।