अन्य थपदेशप्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

धनगढीमा १४ बुँदे घोषणा पत्र जारी गदैँ धामी झाँक्री सम्मेलन सकियो

Share to:

रासंसा/कैलाली, श्रावण ७,

मुलुकमा धामी झाँक्रीको विश्वास नलिएको समयमा कैलालीको धनगढीमा मर्यादित महिनावारीको लागि तीन दिने धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गदैँ सम्पन्न आज शनिबार सम्पन्न भएको छ । सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावरीमा भेदभाव गर्ने, छुवाछुत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको हो । घोषणापत्रमा घर परिवारमा मर्यादित महिनावारी मैत्री बनाउन किशोरी, महिलाहरुलाई महिनावारी हुने ५ दिन र महिनावारी नहुने २५ दिन समान व्यवहार कार्यान्वयन गर्नुपर्नेछ । महिनावारीको रगत पवित्र र सृष्टिको आधार भएकोले यसलाई मर्यादित बनाउन सबैको जिम्मेवारी महत्वपूर्ण भन्दै धामी झाँक्रीले महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछुत नगरी उचित सम्मान प्रकट गर्न विशेष पहल गर्ने प्रतिबद्धता गरेका छन् । समाजमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवन यापन गर्ने वातावरण सृजना गर्न कुनै पनि किसिमको लैंगिक भेदभाव नगरी मर्यादित महिनावारी मैत्री पारिवारिक वातावरण तयार गर्दै जाने अग्रसरता लिने घोषणापत्रमा उल्लेख गरिएको छ । धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिहरुमा आत्मविश्वास बढाउनको लागि मर्यादित महिनावारीको सू–सुचित गर्ने, महिनावारीको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताको लागि सकारात्मक सहयोग गर्ने, महिनावारी भएको समयमा पनि किशोरीहरुलाई विद्यालय जान प्रोत्साहित गर्नुपर्ने सो घोषणापत्रमा भनिएको छ । प्रदेश तथा पालिकासंग समन्वय गरेर समुदायमा मर्यादित महिनावारी सम्बन्धि जनचेतना जगाउने, तालिम, गोष्ठी, सडकनाटक, पोस्टर, पम्प्लेट आदिका लागि बजेट व्यवस्थापन गर्नुपर्ने, पालिकाले धामी–झाँक्री, अभियन्ता, पत्रकार आदि हरुलाई मर्यादित महिनावारीको प्रचार प्रसार गर्न परिचालन गर्नुपर्ने भन्ने छ । विद्यालयमा मर्यादित महिनावारी सम्बन्धित सन्देशहरु भित्ताहरुमा टाँस्न लगाउने, विद्यालयमा महिनावारी मैत्री चर्पी, पानी तथा महिनावारी सामग्री व्यवस्था गर्न पालिकालाई अनुरोध गरिने जनाइएको छ । गत बिहिबारदेखि सुरु भएको मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलन शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साँउदले समापन गरेका हुन । कार्याक्रममा राज्यमन्त्री साउँदले मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलनले जारी गरेको घोषणपत्र कार्यान्वयन गर्नका लागि प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता जनाए । उनले महिनावारी भएको वेला हुने विभेद् विस्तारै कम हुँदै गएको जाने बताए । कोइका जोङ हा ली ले छाउपडी प्रथालाई व्यवस्थित गर्नका लागि नै आफु कोरियाबाट नेपाल पुगेको बताईन् । उनले छाउपडी अर्थात महिनावारी प्रति समाजले हेर्ने दृष्टिकोण फेर्नका लागि कुनै एक व्यक्ति लाग्नु भन्दा पनि सबैको भूमिका रहने बताईन् । कार्यक्रममा खत्याड गाउँपालिका मुगुका उपाध्यक्ष सीता रोकायाले महिनावारी भएको वेला हुने विभेदको अन्त्यका लागि लागिपर्ने बताइन् । आफु पहिलो पटक महिनावारी हुँदा ९ दिन सम्म गोठमा बस्नु परेको पीडा सुनाउँदै उनले अव त्यस्तो अवस्था सिर्जना हुने नदिने गरी काम गर्ने धारणा व्यक्त गरिकी थिइन् । सम्मेलनमा सुदूरपश्चिमको बाजुरा, डोटी, कैलाली, अछाम र कर्णाली प्रदेशको मुगु जिल्लाका धामी झाँक्री तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Like