पहिला कार्यालय सहयोगी, अहिले वडाध्यक्ष

Share to:

रासंसा/बाजुरा, आषाढ २८,

मुलुकमा बुढीगंगा नगरपालिका १ बाजुराका रणबहादुर थापा संघीयता कार्यान्वयनमा आउनुअघिसम्म साविक बह्रमतोला गाविसमा सामाजिक कार्यकर्ता भएर काम गर्थे। संघीयतासँगै उनको जागिर गयो। २०७५ सालमा आफ्नै वडामा कार्यालय सहयोगिको नियुक्ति पाए। वडामा जनप्रतिनिधिले गर्ने कामका विषयमा नजिकबाट नियाल्ने यसै समय उनलाई मौका मिल्यो। आफ्नै वडामा जनप्रतिनिधि बन्ने र नागरिकको सेवा गर्ने इच्छा पलायो। ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझै वडाध्यक्षको उम्मेदवार बने र विजयी पनि भएका छन्। अहिले आफ्नो कार्यालय सहयोगीदेखि वडाध्यक्ष सम्मको यात्रा सम्झँदै भन्छन्, ‘नागरिकको पीर मर्का बुझेको थिएँ। अब काम गर्ने अवसर पाएँ। नागरिकको मन जित्ने काम गर्छु।’ २०७५ सालदेखि १ नम्बर वडामा कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका थापाले वडाध्यक्ष पदमा उठ्न चैत महिनामा राजीनामा दिएका थिए। मासिक १४ हजार पारिश्रमिक पाउने कार्यालय सहयोगी पद त्याग्दै उनले नेकपा एमालेसँग आपूm वडाध्यक्ष लड्ने प्रस्ताव राखेका थिए। एमालेले अध्यक्षको उम्मेदवार बनाउन सहमति जनाएपछि चैत महिनामा राजीनामा दिएर चुनावमा होमिएको उनी बताउँछन्। ‘जित्छु भन्ने लागेर नै चुनावमा होमिन राजीनामा दिएको हुँ। ठूलो पद त होइन कार्यालय सहयोगी। तर, नागरिकको सेवा अध्यक्ष भएपछि अझै गर्न सकिन्छ भन्ने लागेर उम्मेदवारी दिएको थिए। मतदाताको साथ पनि पाएँ,’ उनले भने। बुढीगंगा नगरपालिकामा असार २३ मा सकिएको स्थानीय निर्वाचनमा उनी निर्वाचित भएका हुन्। थापा कार्यालय सहयोगी हुँदाको योगदान र नागरिकलाई गरेको व्यवहारले उनलाई वडाध्यक्षको कुर्सीसम्म पु¥याएको हो। थापाले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका लोगबहादुर थापालाई पराजित गरेका हुन्। विजयी रणबहादुर ४ सय १६ र पराजित लोगबहादुर थापाले ३ सय ५८ मत ल्याएका थिए। निर्वाचित थापा कार्यालय सहयोगी भए पनि उनले वडामा हुने सबै काम गरेको बताउँछन्। थापाले भने, ‘मैले जनताका दुःख, पिरमर्का समस्या राम्रोसँगै बुझेको छु। मैले वडामा कार्यालय सहयोगी हुँदा पनि धेरैको सेवा गरेको छु। अब मलाई काम गर्न समस्या छैन। सबै जानकारी छ।’ थापा कार्यालय सहयोगीमा नियुक्ति हुँदा नेपाली कांग्रेसका वडाध्यक्षमा राजेशकुमार सिंहसहितको कांग्रेसको प्यानल नै विजयी भएको थियो। अहिले उनले एमालेबाट जिते। आफू जनमुखी काम गर्नका लागि नै वडाध्यक्ष हुन तयार भएको थापाले बताए। जनताको मायाले नै निर्वाचित भएको उनको भनाइ छ। वडामा थापासहित पूरै प्यानल एमाले विजयी भएको हो। बुढीगंगा नगरपालिकामा वैशाख ३० गते भएको चुनावमा धाँधली भएको भन्दै निर्वाचन आयोगले असार २३ गते पुनः निर्वाचन गरेको थियो। नगर प्रमुख र उप–प्रमुखसहित ७ वटा वडा एमाले र ३ वटा वडा कांग्रेसले जितेको छ।

Like