युएईका राजपरिवारका सदस्यको औपचारिक कार्यक्रममा रोक
रासंसा/काठमाण्डौ, आषाढ ६,
मुलुकमा झापामा रहेका युएईका राजपरिवारका एक जना सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम सहभागी हुने औपचारिक कार्यक्रममा गृह मन्त्रालयले रोक लगाएको छ। मेडिकल व्यवसायीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईको निमन्त्रणामा युएईका राजपरिवारका सदस्य शनिबार नेपाल आएका थिए । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै झापा गएका थिए । त्यसपछि उनी प्रसाईँले खोलेको मेडिकल कलेजका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। युएईका राजपरिवारका सदस्यको उक्त भ्रमण’bout नेपाल सरकारलाई औपचारिक जानकारी दिइएको थिएन। त्यसैले निजी भ्रमणमा औपचारिक र सार्वजनिक कार्यक्रम गर्न नमिल्ने भन्दै गृहको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। ‘युएईका राजपरिवारका सदस्यलाई युएईको दूतावासको अनुरोधमा परराष्ट्र मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी रुट प्रयोग गर्न दिएको छ,’ झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘उहाँ दुर्गा प्रसाईको व्यक्तिगत निमन्त्रणामा नेपाल आएको देखिन्छ। उहाँ निजी भ्रमणमा आएको हो। निजी भ्रमणमा आएको व्यक्तिले सार्वजनिक, सामाजिक, सांस्कृतिक सम्पदाहरूको उद्घाटन गर्ने, मस्जिद उद्घाटन गर्ने वा मदरसाको उद्घाटन शिलान्यास गर्नेजस्ता कुरा गर्न उपयुक्त हुँदैन। ’cause यो कूटनीतिक सम्बन्धको पनि कुरा हुन्छ । ’ झापामा युएईका राजपरिवारका सदस्य सहभागी हुने कुनै पनि कार्यक्रम नेपाल सरकारको अनुमति लिएर गरेको नपाइएको पनि गृह मन्त्रालय स्रोतले बताएको छ। युएईका राजपरिवारका सदस्यले झापाका कचनकवल र भद्रपुरमा मस्जिद, विश्वविद्यालय शिलान्यास गर्नेजस्ता कार्यक्रम तय भएका थिए । ती कार्यक्रममा गृहले रोक लगाइदिएको छ ।