नेपाल एसपीपीमा संलग्न छैन र हुने सोच पनि छैनः प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री खाँण
रासंसा/काठमाण्डौ, आषाढ २,
मुलुकका रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार आफनो मन्त्रालयको बजेटमाथिको छलफलमा समेत अनुपस्थित भएपछि उहाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)मा नेपाल संलग्न नभएको र नरहने स्पष्ट पार्नुभएको छ। ‘नेपाल एसपीपीमा संलग्न छैन, संलग्न हुने सोच पनि छैन। यो कुनैपनि सैन्य गठबन्धनको हिस्सेदार हुनसक्दैन। बन्न सक्दैन’, उहाले सांसदहरुको प्रश्नको जवाफ दिदै भन्नुभयो र प्रधानमन्त्री देउवा कार्य व्यस्तता देखाएर संसदमा अनुपस्थित भएपछि गृहमन्त्री खाँणले रक्षा मन्त्रालय माथि उठेका प्रश्नहरुको जवाफ दिन’भएको हो । आज बिहीबार रक्षा मन्त्रालय बजेट माथिको छलफलमा प्राय सबै सांसदहरुले एसपीपीबारे प्रश्न उठाएका थिए। उनीहरुले अमेरिकी दूतावासका पदाधिकारी, नेपाली सैनाको वक्तव्यले शंका उत्पन्न गरेको र वास्तबिकता स्पष्ट पार्न भनेका थिए। गृहमन्त्री खाँणले नेपाल संयुक्त राष्ट्र संघ सदस्य राष्ट्र भएकाले पनि यस्ता कार्यक्रममा संलग्न हुन नहुने तर्क राख्नुभयो। ‘हामी संलग्नतै हुन चाहदैनौं। सरकारको प्रतिवद्धता महत्वपूर्ण कुरा हो’, उहाले भन्नुभयो । मन्त्री खाणले प्रधानमन्त्रीको अमेरिका भ्रमणको मिति अहिलेसम्म टुङगो नलागेको बताउदै टुङगो लागेपछि संसदमा जानकारी गराइने बताउनुभयो ।
