बैतडीमा गठबन्धन प्रभावहीत हुँदा काँग्रेस खुम्चियो, एमालेलाई फाइदा

Share to:

बैतडी, जयेष्ठ ५,

मुलुकको सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाका १० पालिकामध्ये नेपाली काँग्रेस र नेकपा एमालेले चार÷चार पालिकाको प्रमुखमा जितेका छन् । हालै सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काँग्रेसले बैतडीका ४ मध्ये २ नगरपालिका र ६ मध्ये २ गाउँपालिकाको नेतृत्व पाएको हो । यस्तै, एमालेले एक नगरपालिका र तीन गाउँपालिकाको नेतृत्व पाएको छ । एक नगरपालिकाको प्रमुख माओवादीले र एक गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेका छन् । त्यस्तै, एमालेले तीन गाउँपालिकाको नेतृत्व जित्दा नेकपा माओवादी केन्द्रले एक नगरपालिकाको नेतृत्व पाएको थियो । अघिल्लो निर्वाचनको तुलनामा नेकपा एमालेले थप एउटा पालिकाको नेतृत्व पाएको छ । माओवादी केन्द्र भने जस्ताको तस्तै अवस्थामा छ । २०७४ सालको निर्वाचनमा यो जिल्लाका १० पालिकामध्ये तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा पालिकामा काँग्रेस विजयी भएको थियो । यो पटक काँग्रेसले एक गाउँपालिका र एक नगरपालिकाको नेतृत्व गुमाएको हो । दशरथचन्द नगरपालिकाको प्रमुखमा नेकपा एमालेका पुष्करराज जोशी निर्वाचित भएका छन् । उनले ६ हजार ५८५ मत पाए । अघिल्लो निर्वाचनमा यो नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका नरेन्द्रसिंह थापा ३ हजार ७६२ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्करराज जोशीले ३ हजार ७०० मत पाएका थिए । अहिले यो पालिकाको प्रमुखमा पराजित भएका काँग्रेसका गजेन्द्रसिंह रावतले ५ हजार ४२७ मत पाए । यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसकी कुमारी कौशिला चन्द ६ हजार १७० मतसहित निर्वाचित भइन् । उनले प्रमुखमा उम्मेदवार भएका आफ्नै पार्टीका गजेन्द्रसिंह रावतकोभन्दा बढी मत पाइन् । उपप्रमुखमा नेकपा एमालेकी सरस्वती नेपालीले ५ हजार ४९५ मत पाइन् । नेपाली दोस्रो पटक उपप्रमुखमा पराजित भएकी हुन् । २०७४ को निर्वाचनमा उपप्रमुखमा काँग्रेसकै मीना चन्द ३ हजार ७३१ मतसहित निर्वाचित भएकी थिइन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती नेपालीले २ हजार ९९७ मत पाएकी थिइन् । पाटन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गौरी सिंह रावत विजयी भएका छन् । उनले ६ हजार ८६९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका नारायण सिंह भण्डारीले ५ हजार २९० मत पाए । २०७४ को निर्वाचनमा पाटन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका केशवबहादुर चन्द ४ हजार ८३३ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरेशकुमार विश्वकर्माले ३ हजार ३८२ मत पाएका थिए । उपप्रमुखमा भने अहिले नेकपा माओवादी केन्द्रका कमलसिंह बोहरा निर्वाचित भएका छन् । उनले ५ हजार ७५१ मत पाए । उनका प्रतिस्पर्धी नेकपा एमालेका हरु भट्टले ५ हजार ४२७ मत पाइन् । अघिल्लो निर्वाचनमा यो नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी सरस्वती कोली ३ हजार ६९५ मतसहित निर्वाचित हुँदा उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी दुरादेवी भट्टराईले ३ हजार ४५६ मत पाएकी थिइन् । पुर्चौडी नगरपालिका विगतमा माओवादी केन्द्रले जितको यो नगरपालिकामा यसपटक काँग्रेसले प्रमुख पद जितेको छ । नगरप्रमुखमा काँग्रेसका दीपकबहादुर बम ५ हजार ८८० मतसहित निर्वाचित भए । बम अघिल्लो निर्वाचनमा पराजित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर कुँवरले ३ हजार ९६५ मत पाए । २०७४ मा पुर्चौडी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका रणबहादुर कुवर ४ हजार ४४६ मत सहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दीपकबहादुर बमले ४ हजार १११ मत पाएका थिए । उपप्रमुखमा पनि नेपाली काँग्रेस नै विजयी भएको छ । काँग्रेसकी मिना धानुक ५ हजार २०० मतसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी जानकारी कुमारी बोहराले ४ हजार ६१२ मत पाइन् । अघिल्लो निर्वाचनमा यो पालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी जानकी बम (ऐर) ४ हजार ९८४ मतसहित निर्वाचित हुँदा नेकपा एमालेकी जानकीकुमारी बोहराले ३ हजार ७८७ मत पाएकी थिइन् । मेलौरी नगरपालिका अघिल्लो निर्वाचनमा काँग्रेस विजयी भएको मेलौरी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द विजयी भए । चन्द अघिल्लो निर्वाचनमा पराजित भएका थिए । प्रमुखमा विजयी भएका चन्दले ३ हजार १० मत ल्याउँदा नेकपा एमालेका जगदीश सिंह नायकले २ हजार ३७६ मत पाए । अघिल्लो निर्वाचनमा मेलौरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका कृष्णसिंह नायेक २ हजार ३४४ मतसहित निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्दले २ हजार ६८ मत पाएका थिए । यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसकी पार्वती बोहरा (विष्ट) विजयी भएकी छन् । उनले २ हजार ९२७ मत पाइन् । उनकी प्रतिस्पर्धी एमालेकी हेमन्ती नायकले २ हजार ४०८ मत पाइन् । २०७४ को निर्वाचनमा यो पालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी कुमारी राधा ओझा २ हजार १५२ मतसहित निर्वाचित हुँदा नेकपा एमालेकी मानमती कुमारी भट्टले २ हजार १८ मत पाएकी थिइन् । डीलासैनी गाउँपालिका २०७४ मा डीलासैनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उकेन्द्रबहादुर बोहरा २ हजार ६६३ मतसमित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कर्णबहादुर रानाले २ हजार २५२ मत पाएका थिए । तर यो पटक यो पालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी ३ हजार १८९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लोकेन्द्रबहादुर रानाले २ हजार ६५१ मत पाए । यो पालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको थियो । पालिका प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली काँग्रेसले उम्मेदवारी दिएका थिए । तर गठबन्धनमा गडबड भएका कारण गठबन्धनबाटै अध्यक्षका उम्मेदवार पराजित हुँदा उपाध्यक्ष भने विजयी भएका छन् । काँग्रेस र माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्षमा साझा उम्मेदवार बनाए पनि माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवार भएका रानाले २ हजार ६५१ मतमात्र पाउँदा सोही गठबन्धनबाट उपाध्यक्ष भएका काँग्रेसका बोहरा ३ हजार ८७३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका लिलावती जोशी २ हजार ७७९ मतमा सीमित भइन् । २०७४ को निर्वाचनमा यो पालिकाको उपाध्यक्षमा नेकपा एमालेकी पार्वती कुमारी भण्डारी २ हजार ६९६ मतसहित निर्वाचित हुँदा उनकी निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी जानकी कार्कीले २ हजार २०८ मत पाएकी थिइन् । दोगडाकेदार गाउँपालिका २०७४ को निर्वाचनमा यो पालिकाको अध्यक्ष र उपाध्यक्ष गरी दुवै पद जितेको नेकपा एमालेले सत्तारुढ दलहरुको गठबन्धनका बाबजुद अहिले पनि आफ्नो सोही प्रभावलाई कायम राखेको छ । यो पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर कार्की ४ हजार ९१७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका ४ देवराज जोशीले ४ हजार ९१ मत पाए । अघिल्लो निर्वाचनमा दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट अध्यक्षमा चक्रबहादुर कार्की ३ हजार १४९ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका तारासिंह कुँवरले २ हजार ७९१ मत पाएका थिए । उपाध्यक्षमा नेकपा एमालेकी पार्वती कार्की दोस्रो कार्यकालका लागि निर्वाचित भइन् । उनले ४ हजार ७८४ मत पाएकी थिइन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नवराज भट्टले ३ हजार ६४१ मत पाए । अघिल्लो निर्वाचनमा एमालेकी पार्वती कार्की ३ हजार २१७ मतसहित निर्वाचित हुँदा उनकी निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी लक्ष्मी ओडले २ हजार २९६ मत पाएकी थिइन् । पञ्चेश्वर पालिकामा सत्तारुढ दलहरुबीच गठबन्धनका बाबजुद एमालेले आफ्नो प्रभावलाई कायम राखेको छ । यो पालिकाको अध्यक्षमा नेकपा एमालेका गोरखबहादुर चन्द ३ हजार ७८२ मतसहित निर्वाचित भए । गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका रमेशसिंह भण्डारीले २ हजार ४८८ मत पाए । २०७४ को निर्वाचनमा पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका गोरखबहादुर चन्द २ हजार ६०८ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दिनेशबहादुर चन्दले एक हजार ७२८ मत पाएका थिए । यो गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी विना भट्ट निर्वाचित भएकी छन् । ३ हजार ६४ मत ल्याएर निर्वाचित भएकी उनले गठबन्धनबाट उपाध्यक्षमा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजेन्द्रबहादुर चन्दलाई पराजित गरिन् । चन्दले २ हजार ५०० मत पाए । २०७४ को निर्वाचनमा यो पालिकाको उपाध्यक्षमा नेकपा एमालेकी विना भट्ट २ हजार ४२४ मतसहित निर्वाचित हुँदा उनकी निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी विन्दु चन्दले एक हजार ८७४ मत पाएकी थिइन् । शिवनाथ गाउँपालिका शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका कर्णसिंह साउद दोस्रो पटक निर्वाचित भएका छन् । उनी अहिले ३ हजार १६५ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हजारीसिंह साउदले २ हजार ८४९ मत पाए । २०७४ को निर्वाचनमा पनि अध्यक्षमा काँग्रेसका कर्णसिंह साउद नै निर्वाचित भएका थिए । उनले त्यतिबेला २ हजार ३५२ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह मडैले २ हजार ३१४ मत पाएका थिए । काँग्रेस–माओवादी गठबन्धनका बीच उपाध्यक्षमा नेकपा एमालेकी सकुन्तला साउद निर्वाचित भएकी छन् । उनले २ हजार ८१७ मत पाइन् । माओवादी केन्द्रबाट उपाध्यक्षमा उम्मेदवार भएका नरेन्द्र साउदले २ हजार ६७९ मत पाए । २०७४ को निर्वाचनमा उपाध्यक्षमा नेकपा एमालेकी कुस्मा चन्दले २ हजार ३६८ मत पाएर निर्वाचित हुँदा नेपाली काँग्रेसकी झापुदेवी महताले २ हजार १०८ मत पाएकी थिइन् । सिगास गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच तालमेल भएको थिएन । यो पालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हरिसिंह धामी निर्वाचित भएका छन् । उनले ३ हजार ४४९ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जसवीरसिंह बोहराले एक हजार ७८९ मत पाए । २०७४ सालको निर्वाचनमा पनि यो पालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हरिसिंह धामी नै निर्वाचित भएका थिए । उनले त्यतिबेला २ हजार ३३२ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका रामसिंह साउदले एक हजार ४७३ मत पाएका थिए । उपाध्यक्षमा नेकपा एमालेकी धाना धामी निर्वाचित भएकी छन् । उनले २ हजार ९३९ मत पाइन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी सुमित्रा ऐरले २ हजार ६९६ मत पाइन् । २०७४ को निर्वाचनमा यो पालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकी द्रोपती चन्द एक हजार ८५५ मतसहित निर्वाचित हुँदा नेकपा एमालेकी भृकुटीदेवी चन्दले एक हजार ४५५ मत पाएकी थिइन् । सुर्नया गाउँपालिका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेलका बाबजुद सुर्नया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अम्मरबहादुर कुवर विजयी भएका छन् । उनले २ हजार ३५० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका नरेन्द्रबहादुर विष्टले २ हजार ३२४ मत पाए । विष्ट दोस्रो पटक सोही पदमा पराजित भएका हुन् । २०७४ को निर्वाचनमा यो पालिकाको अध्यक्षमा नेपाली काँग्रेसका वीरबहादुर विष्ट २ हजार ३६१ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरेन्द्रबहादुर विष्टले २ हजार २७६ मत पाएका थिए । यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकी मन्जु महरा÷बोहरा २ हजार १३२ मतसहित निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी राप्रपाका देवबहादुर चन्दले एक हजार ९४१ मत पाए । २०७४ को निर्वाचनमा यो पालिकाको उपाध्यक्षमा नेकपा एमालेकी लिलाकुमारी विष्ट २ हजार ३०४ मतसहित निर्वाचित हुँदा नेपाली काँग्रेसकी भागरती बोहराले २ हजार १८७ मत पाएकी थिइन् ।

Like