दीर्घ शान्तिका लागि गठबन्धन : गृहमन्त्री
रासंसा/ तनहुँ, चैत्र २१,
मुलुकमा गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घ शान्तिको लागि भएको बताउनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ तनहुँ महोत्सवमा समापन गर्दै उहाँले गठबन्धनको उपलब्धि सरकार बनाउनुमात्र नभई संविधानको रक्षाका लागि भएको प्रस्ट पार्नुभयो । गृहमन्त्री खाँणले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकार गम्भीर रहेको बताउनुभयो । सीमित स्रोत र साधनका बाबजुद पनि सुरक्षा निकायले गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उहाँको भनाइ थियो । गृहमन्त्री खाँणले लोकतान्त्रिक प्रणालीमाथि प्रहार भएपछि अहिलेको गठबन्धन बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान बचाउन गठबन्धन गरिएको हो, सरकार प्राप्तिका लागि मात्र होइन । मुलुकको विकास र शान्तिका लागि हो ।” गृहमन्त्री खाँणले तनहुँमा जन्मिनुभएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको विकासका लागि योगदान पुर्याएको चर्चा गर्दै भन्नुभयो, “भानुभक्त आचार्य नजन्मिएको भए नेपाली भाषाले यो उचाइ प्राप्त गर्ने थिएन ।” उद्योगी व्यवसायीको संरक्षणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाँणले भन्नुभयो, “उद्योगीको सुरक्षाका लागि गम्भीर र संवेदनशील छौँ । रोजगारी वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन व्यवसायी गतिशील बन्नुपर्छ । जनतालाई सम्पन्न र सरकारलाई सक्षम बनाउन उद्योगी व्यवसायीको भूमिका छ ।” नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले हरेक वडामा कृषि उपज बजारीकरणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, गोरखाका पूर्व अध्यक्ष विश्वदेव श्रेष्ठ लगायतले निजी क्षेत्रको प्रवर्द्धनमा सरकार लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले तोकिएकै मितिमा चुनाव गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मुलुक निर्वाचनको तयारीमा जुटिसकेको बताउनुभयो । हरेक नेपालीलाई स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीको भनाइ थियो । महोत्सवमा मादीसेती नदीमा जलबिहारको व्यवस्था मिलाइएको थियो । सेती र मादीको सङ्गमस्थल दमौलीमा जलबिहारको प्रचुर सम्भावना भए पनि जलबिहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर जलविहार सञ्चालन गरिएको र यसले आकर्षण थपेको महोत्सवका प्रवक्ता इमकुमार मल्लले जानकारी दिनुभयो । सङ्घका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक पविन्द्रकुमार श्रेष्ठले महोत्सव सफल भएको बताउनुभयो । आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको र महोत्सवको लक्ष्य पूरा भएको उहाँले बताउनुभयो ।