कमिसन खेलमा अमलेखगञ्ज डिपो, तीन प्रदेशमा पेट्रोलको सङ्कट, व्यवसायी भन्छन् कमिसन चाहियो, निगम भन्छ– दिन सकिन्न
रासंसा/काठमाण्डौ, चैत्र १९,
मुलुकमा पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित बनेका छन् । नेपाल आयल निगमले तेल बिक्रेताहरूलाई कुल बिक्रीको ३ प्रतिशत रकम कमिसन बापत दिँदै आएको थियो । पछिल्लो समय लगातारको मूल्यवृद्धिका कारण निगमले पेट्रोलियम पदार्थमा दिँदै आएको कमिसन फागुन १९ गतेदेखि कटौती गरेको छ । कमिसन बापतको रकम कटौती गरेपछि राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार विज्ञप्ति जारी गरेर ढुवानी ठप्प पारेको हो । निगमको अमलेखगञ्ज डिपोले भारतको बरौनीबाट दैनिक २५ देखि ४० ट्याङ्कर पेट्रोल आयात गर्दै आएको छ । सो पेट्रोलियम पदार्थ यहाँबाट वाग्मती, गण्डकी र मधेस प्रदेशका अधिकांश जिल्ला ढुवानी हुने गर्छ । शुक्रबारदेखि भएको हडतालले तीनवटै प्रदेशका उपभोक्ताहरू मारमा परेका छन् । यादवले रातोपाटीसँग भने, ‘ढुवानी व्यवसायीहरूले मूल्य बढेपछि हाम्रो कमिसन पनि बढाउनुपर्छ भन्ने उहाँहरूको माग हो । शुक्रबारदेखि ढुवानीमा समस्या भएको छ, गाडीहरू एउटा पनि लोड भएका छैनन् ।’ नेपाल आयल निगम अमलेखगञ्जका डिपो प्रमुख प्रदीप यादवले रुस–युक्रेन युद्धका कारण विश्व बजारका कच्चा तेलको मूल्य बढेकाले नेपाली उपभोक्तालाई मूल्यवृद्विबाट बचाउन डिलरलाई दिनुपर्ने कमिसन रोकिएको बताए ।