निर्मल निवासको हस्तक्षेपले पार्टी छाड्न बाध्य भएको कमल थापाको भनाइ
रासंसा/काठमाण्डौ, माघ २९,
निर्मल निवासको हस्तक्षेपले पार्टी छाड्न बाध्य भएको कमल थापाको भनाइ रहेको छ । नेता कमल थापाले निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण आफू राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुन परेको बताएका छन्। उनले निर्मल निवासले एउटा समूहलाई अगाडि बढाउनेसँगै अर्कोलाई पछाडि तान्ने खेलले राजसंस्थाप्रति आघात पुगेकाले गर्दा पनि अलग हुनु परेको प्रस्ट्याए। ‘राजसंस्थाले आफूमाथि हस्तक्षेप गरेकाले गर्दा अब कसरी राजसंस्था बोकेर अघि बढ्ने नैतिक प्रश्न पनि खडा भयो,’ उनले भने, ‘राजसंस्था पुर्नस्थापित भए अरु पार्टीमाथि पनि हस्तक्षेप हुनु स्वभाविक हुनेछ। त्यसैले गर्दा पार्टी त्यागे।’ पछिल्लो समय निर्मल निवासको बढी नै हस्तक्षेप भएको थापाले आरोप लगाए। ‘मैले राप्रपाको महाधिवेसनमा चुनाब हार्नुमा निर्मल निवासको हस्तक्षेप एउटा कारण थियो तैपनि हारलाई स्विकार गरेर सहजरुपमा अघि बढेकै थिए,’ शुक्रबार इटहरीको तरहरामा आयोजित पत्रकार भेटघाटमा नेता थापाले भने, ‘चुनाब पछि अहिलेको नेतृत्व निर्मल निवासकै रिमोर्ट कन्ट्रोलबाट चलेपछि बाध्य भएर अलग भएको हो।’ निर्मल निवासको हस्तक्षेप भएका कारण निरीह, लाचार, अपमानित र अपहेलित भएर पार्टीमा बसिराख्न सक्ने अवस्था नरहेका बाध्य भएर अत्यन्तै पीडाबोध भएर अलगिएको थापाले प्रस्ट्याए। उनले अहिले राप्रपाको नेतृत्वलाई निर्मल निवासले एउटा राजनीतिक शक्तिको रूपमा भन्दापनि कुनै एउटा विषयलाई पुर्नस्थापित गर्ने संघर्ष समितिको रूपमा हेरेर सोही अनुसार प्रयोग गरेको जिकिर गरे। ‘अहिलेको राप्रपाको नेतृत्व अपरिपक्क रहेको छ,’ उनले भने। उनले विगतमा आफूले राजा ज्ञानेन्द्र साहसहित पूर्व राज परिवारका सदस्यलाई पटकपटक जनताका हितमा लाग्न सुल्झाए पनि कुरा नसुनेको पनि बताए। ‘राजा ज्ञानेन्द्र र निर्मल निवासलाई सम्झाउन सकिएन,’ थापाले भने, ‘पार्टी र नेता असफल भए भन्दैमा राजा आएर शासन गर्ने होइन्। मैले राजा र राजाको सचिवालयलाई सम्झाउन सकिनँ।’ नेता थापाले अब आफूले हिन्दुराष्ट्र, सुशासन र समृद्दिको मुख्य एजेन्डा बोकेर नयाँ पार्टी खोल्ने बताए। ‘हिजोको दिनमा हिन्दुराष्ट्रको एजेण्डा कमजोर हुनुमा राजसंस्था थियो,’ उनले भने, ‘राजसंस्था नेपालको भू राजनीतिक अवस्थामा आलंकारिक र संवैधानिक आवश्यकता छ। तर, राजसंस्था संवैधानिक र प्रजातन्त्रिक परिधि रहने सम्बन्धमा शंका छन्।’
