‘वान टु वान’ वार्तामा प्रधानमन्त्री देउवा र प्रचण्डबीच निर्वाचन मिति तोक्न ताकेता
रासंसा/काठमाण्डौ, माघ ५,
मुलुकमा स्थानीय तहको निर्वाचनको मिति तोक्न सत्ता गठबन्धनलाई टाउको दुखाइको विषय बनेको छ। मंगलबार बसेको सत्ता गठबन्धको बैठकले वैशाखमै निर्वाचन गर्ने सहमति भए पनि मितिको टुंगो लगाउन सकेको छैन। ‘प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तहको निर्वाचन केन्द्रीत छलफल भएको हो। वैशाखमै गर्नुपरे कति गते गर्ने वा सार्नपरे कहिलेलाई सार्ने विषयमा छलफल केन्द्रीत रहेको थियो,’ खुमलटार स्रोतले अन्नपूर्णसँग भन्यो। भोलि बिहीबार मन्त्रिपरिषद् बैठकमा निर्वाचन मिति तोक्ने विषयमा छलफल हुने बताइएको छ। सोही कारण आज प्रचण्डसँग वार्ता भएको बताइएको छ। सोही विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ। प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको छलफलमा चुनाव केन्द्रीत वार्ता भएको बताइएको छ। प्रमुख प्रतिपक्षी दलले स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई दबाब दिँदै आएको छ। निर्वाचन आयोगले पनि कानुनअनुसार वैशाखमा जसरी पनि स्थानीय तहको निर्वाचन गराउन सरकालाई ताकेता गर्दै आएको छ। त्यस्तै दुईबीच नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दीको विषयमा पनि छलफल भएको छ। कोसलाई एआइजीमा ल्याउने विषयमा छलफल भएको स्रोतले बतायो।