३६ प्रतिशतले पहिलो डोज पनि पाएनन्, सुदूरपश्चिममा २१९३ सक्रिय संक्रमित,

Share to:

रासंसा/कैलाली, माघ ५,

मुलुकमा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई हजार एक सय नाघेको छ । स्वास्थ्य निर्देशनालय डोटीले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या दुई हजार १९३ पुगेको हो । यीमध्ये २ सय २९ जना मात्रै संस्थागत आइसोलेसनमा र १६२ जना अस्पतालहरुमा रहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। ५ जनाको आइसियू र दुई जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उल्लेखित संक्रमित मध्ये सबैभन्दा बढी कैलालीका एक्टिभ केस छन् । जिल्लामा एक हजार ३५३ सक्रिय संक्रमित रहेका छन् । यस्तै कञ्चनपुरमा ५ सय ५५, डोटीमा ४९, बैतडीमा ३२, बाजुरामा ६१, डडेल्धुरा ३४, दार्चुला १२, बझाङमा ३४ र अछाममा ३७ जना संक्रिय संक्रमित रहेका छन् । सुदूरपश्चिमका ५९ प्रतिशत अर्थात झण्डै १२ लाख नागरिकले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन्। स्वास्थ्य निर्देशनालयका अनुसार ४१ प्रतिशत नागरिक भने पूर्ण खोपबाट बञ्चित रहेका हुन् । प्रदेशमा पुसको अन्तिम सातादेखि निरन्तर रुपमस कोरोना भाइरसको ग्राफ उकालो लाग्दै आएको छ । दैनिक तीनदेखि चार सय जना संक्रमित थपिएका छन् । उनका अनुसार ६४ प्रतिशत नागरिकले भने कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। पहिलो डोज लगाउन नपाउने नागरिकको संख्या ३६ प्रतिशत छ । अहिले कोरोना भाइरसको तेस्रो भेरियण्ट ओमिक्रोनको समेत संक्रमण फैलिने खतरा बढेका बेला बुस्टर डोज लगाउने अभियान पनि सञ्चालन भएको छ । ‘संघीय सरकारले अहिलेसम्म सुदूरपश्चिमलाई २७ लाख ८७ हजार डोज खोप उपलब्ध गराएको छ,’ निर्देशनालयका निमित्त निर्देशक डाक्टर जगदिश जोशीले भने, ‘सरकारको लक्ष्य पुस मसान्तसम्म ६६ प्रतिशत पुगाउने थियो । हाम्रो प्रदेशमा पूर्ण खोप लगाउने नागरिकको संख्या ५९ प्रतिशत पुगेको छ ।’ ‘कोरोना भाइरस नियन्त्रणका लागि फ्रन्ट लाइनमा काम गर्नेहरुका लागि बुस्टर डोज प्राप्त भएको छ,’ निर्देशनालयका निमित्त निर्देशक डा. जोशीले भने

Like