देशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारस्पेसलस्वास्थ्यहेडलाइन

सचिव गेलाल भन्छन्–भिडभाड हुने कार्यक्रम गर्दै नगरौँ, मन्त्रालयका सचिव नै कोभिड सङ्क्रमित : मापदण्ड लत्याउँदै मन्त्री झाँक्रीको पत्रकार सम्मेलन

Share to:

रासंसा/काठमाण्डौ, माघ ३,

मुलुकमा सहरी विकास तथा भवन निर्माण विभागको हलमा गरिएको सम्मेलनमा झन्डै १ सय जना हाराहारी पत्रकार तथा कर्मचारीहरू सहभागी थिए । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारले तोकेको कोभिड रोकथाम सम्बन्धी मापदण्ड उल्लङ्घन गरेकी छिन् । कोभिड सङ्क्रमणको तेस्रो लहर ह्वात्तै बढिरहेका बेला सोमबार मन्त्री झाँक्रीले भिडभाड गरेर पत्रकार सम्मेलन गरेकी हुन् । सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन रोक लगाइरहेका बेला आफूले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा मन्त्रालयले गरेको कामको जानकारी गराउन उनले पत्रकार सम्मेलन डाकेकी हुन् । कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री झाँक्रीले मास्क खोलेर बोल्ने चाहना राखेकी थिइन् । कार्यक्रममा उनले मास्क खोलेर बोलौँ भन्दै प्रश्न सोधेकी थिइन् । पत्रकारहरूले मास्क लगाएरै बोल्नुस् भनेपछि उनले मास्क नखोली आफ्ना भनाई सुरु गरेकी थिइन् । झन्डै २ घण्टा भएको कार्यक्रममा सहरी विकास मन्त्रालयले विगतदेखि गर्दै आएका नियमित योजना तथा कामहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो । यता मन्त्रालयका सचिव मणिराम गेलाल भने अघिल्लो दिनमात्र कोभिड सङ्क्रमण भएपछि सम्मेलनमा सहभागी हुन सकेनन् । उनी कोभिड सङ्क्रमण भएपछि घरै आराम गरिरहेका गरिरहेका छन् ।
आफू कुन ठाउँमा पुगेका बेला कसरी सङ्क्रमित भएको भन्दै अनुमानै गर्न नसकेको उनले बताए । उनले ज्वरो, खोकी र घाँटी दुख्ने समस्या देखिएको र फोनबाट डाक्टरसँग परामर्श गर्दै सिटामोल कफ सिरफ जस्ता औषधी लिइरहेको बताए । आइतबार दिउसो ३ बजेसम्म सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल कार्यालयमै थिए । कोभिड परीक्षण गराउँदा जब उनले आफू सङ्क्रमित भएको थाहा पाएपछि उनी अहिले घरमा आइसोलेसनमा बसिरहेका छन् । उनले भने–‘धेरै गाह्रो भए अस्पताल आउनु भनेर डाक्टरले सुझाव दिनुभएको छ । अहिले घरमै आराम गरेर बसिरहेको छु ।’ उनले मन्त्रीको सय दिन पुगेको बेला जानकारी गराउन पत्रकार गर्नु ठिकै भए पनि भीड गरेर कार्यक्रम गर्न भने नहुने बताए । उनले भने–‘त्यो कार्यक्रममा म थिइन्, कसरी भयो तर यो मात्र हैन कुनै पनि कार्यक्रम भिडभाड गरेर गर्न भएन ।’ उनले भिडभाड हुने कार्यक्रम नगर्न, मास्क खोलेर नबस्न सुझाव दिए । उनले भने–‘ओमिक्रोन धेरै सङ्क्रामक रहेछ । घर परिवारमा एक जनालाई लाग्यो भने पनि अरूलाई छिटो सर्ने रहेछ । परिवारका सदस्यलाई पनि टेष्ट गराउँदैछु । यो सङ्क्रमणबाट जोगिन मुख्यतः भिडभाडमा जान भएन । सरकारले बनाएको मापदण्ड भन्दा बढी भेला हुन भएन । अझ मास्क त खोल्नै भएन । एक्लै हुँदा मास्क लगाइरहेका हुन्छौँ, बेला बेला मास्क खोल्ने, मान्छे आउँदा अनुहार देखाउन मास्क खोल्ने हाम्रो परिपाटी पनि छ, मास्क खोल्न भएन । चिया खाँदा मास्क खोल्ने चलन छ । चिया खाने कार्यक्रम किन गर्नुपर्‍यो ? चिया खानका लागि पनि हामीले मास्क खोल्नुपर्ने हुन्छ । भिडभाडमा नजाने, मास्क नखोल्न र स्वास्थ्य मापदण्ड पालना गर्न मेरो सुझाव छ ।’ स्रोतका अनुसार सहरी विकास मन्त्रालय अन्तर्गत रहेको सहरी विकास तथा भवन विभागका अन्य केही कर्मचारीहरू पनि कोभिड सङ्क्रमित भएका छन् । यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसनले भने पत्रकार सम्मेलन स्थगित गरे । उनले पनि मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम राखेका थिए । मन्त्रालयका केही कर्मचारीलाई कोभिड सङ्क्रमण भएपछि जोखिमलाई ध्यानमा राख्दै पत्रकार सम्मेलन रद्द गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । उनले सय दिनसम्म हासिल गरेका उपलब्धि इमेलमार्फत पठाइने जनाइएको छ ।

Like