४८ अंकको गिरावट सेयर बजार, सूचक २३ सयमा झर्यो
रासंसा/काठमाण्डौ, बैशाख १९,
मुलुकमा सेयर बजारमा सोमबार ४८ अंकको गिरावट आएको छ। नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०४.४४ विन्दुमा झरेको छ। आज २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता सेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १३ समूहकै सूचक ओरालो लागेको छ। एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज फाइनान्स समूहको ४.२४ प्रतिशतले सेयर मूल्य घट्यो। यस्तै, हाइड्रोको ३.५८, अदर्शको ३.३८,डेभलपमेन्ट बैंकको ३.०८ र होटल एन्ड टुरिजमको ३.७ प्रतिशतले मूल्य घटेको हो। सेन्सेटिभ इन्डेक्स ८.४५ अंकले घटेर ४४१.७९ विन्दुमा अडिएको छ। आज कारोबारको आधारमा अरुण भ्याली हाइड्रो पावर अग्रस्थानमा रहयो। सो कम्पनीको ४ करोड ७३ लाख बढीको सेयर खरिदबिक्री भयो। यसैगरी ४ करोड बढी सेयर कारोबार गरी हिमालयन डिष्टिलरी, शिवम सिमेन्टस र नेपाल फाइनान्स क्रमश दोस्रो,तेस्रो र चौथो स्थानमा रहे। इन्भेष्टमेन्ट बैंकको २.२३, लाइफ इन्स्योरेन्सको २.७२, ननलाइफ इन्स्योरेन्स र मनु एन्ड प्रोको २.०४ प्रतिशतले सेयर मूल्य घटेको हो। सेयर कारोबारको दोस्रो दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीयको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल फाइनान्सको भने १० प्रतिशतले सेयर मूल्य घटेको छ।