मेयरका उम्मेदवार नै जनकपुरमा धर्नामा
रासंसा/धनुषा, बैशाख १९,
मुलुका जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार उठेका मनोज साह मुख्य निर्वाचन अधिकृत कार्यालयमा धर्ना बसेका छन् ।
‘आधिकारिक वेबसाइटमा नमूना मतपत्रमा १७ वटा छाप मात्रै देखाइएको छ । ११ जना उम्मेदवारको चिन्ह देखाइएको छैन,’ उनले भने, ‘हिजोदेखि मैले कुरा राखेको छु, तर अहिलेसम्म राखेको छैन।’ निर्वाचन आयोगले आफूलाई प्रदान गरेको चुनाव चिन्ह नमूना मतपत्र र वेभसाइटमा नराखिएको भन्दै उनले विरोध जनाएका हुन् । निर्वाचन आयोगले भने स्वतन्त्र उम्मेदवार धेरै भएका ठाउँमा पुनः मतपत्र छपाइ गर्ने तयारी गरेको जनाएको छ । आयोगले अनुमान गरेभन्दा धेरै संख्यामा उम्मेदवारी परेपछि केही जिल्लाका स्थानीय तहमा फेरि मतपत्र छपाइ गर्नुपरेको जनाएको छ । नमूना मतपत्रमा चिन्ह नराखेको भन्दै धर्नामा बस्न बाध्य भएको उनले बताए । ‘यो गल्ती सच्याउँछौं भनिरहनुभएको छ । तर अहिलेसम्म राखिएको छैन,’ उनले भने, ‘कति समय लाग्छ पनि भनेका छैनन् । केन्द्रको हातमा छ भनेका छन् । केन्द्रले के गर्न खोजेको हो ? चुनाव प्रचार गर्नुछ, हाम्रो २४ घण्टा खेर गएको छ ।’ उनले भने । नेपाली कांग्रेसका नेता साह पार्टीबाट टिकट नपाएपछि बागी उठेका थिए ।