गडबडीको संकेत गठबन्धनमा
रासंसा/काठमाण्डौ, बैशाख ४,
मुलुकमा आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । सिट बाँडफाँड गर्न नसकेको सत्ता गठबन्धनले नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँट गरी ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी ५ वैशाखभित्र केन्द्रलाई पठाउन भनेको छ । केन्द्रीय स्तरमा पाँच दलीय गठबन्धनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेर सिट बाँडफाँडको मापदण्ड गृहकार्य गरिरहेको छ । यो समितिमा गठबन्धनभित्र रहेका दलबाट दुई दुई जना सदस्य रहेका छन् । तर, यो समितिले अझै सिट बाँडफाँड गर्न सकेको छैन । सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् । तर, जिल्ला जिल्लामा गठबन्धनभित्र रहेका दलबीच असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा एक दलका नेताले अर्को दलका नेतालाई स्वीकार गर्न सकेका छैनन् । आफ्नो पालिकामा एकले अर्कोलाई सहयोग नगर्ने अडान लिँदै गठबन्धनभित्रका नेताले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । यस्तै, वीरगन्ज महानगरपालिमा कांग्रेसले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । कांग्रेस पर्सा जिल्ला कमिटीले वीरगंजसहित पर्साको अन्य पालिकामा समेत कांग्रेस एक्लै चुनाव गर्ने उद्घोष गरेको छ । वीरगन्जमा गत निर्वाचनमा जसपाले मेयर जितेको थियो । तर, जसपाबाट मेयर जितेका विजय सरावागी एमालेमा प्रवेश गरिसकेका छन् । वीरगन्ज महानगरसहित पर्साको पालिकामा सत्तारूढ गठबन्धनभित्रै प्रतिस्पर्धा हुने संकेत देखिएको छ । चितवनमा गठबन्धन दलबीच चर्को विवाद रहेको छ । भरतपुर महानगरमा माओवादीका उम्मेदवारलाई मेयरमा स्वीकार गर्न नसकिने भन्दै कांग्रेस स्थानीय नेता कार्यकर्ता विरोधमा उत्रेका छन् । भरतपुरका ५० जना कांग्रेसका पूर्ववडाध्यक्ष, पार्टीका पूर्ववडा सभापतिले शनिबार राजीनामा दिएका छन् । उता कलैया उपमहानगरपालिकामा गत निर्वाचनमा कांग्रेसले मेयर जितेको थियो । तर, माओवादी, एकीकृत समाजवादी र जसपाले तीन दलीय गठबन्धन गर्दै कांग्रेससँग गठबन्धन नगर्ने घोषणा गरेका छन् । तीन दलबाट साझा उम्मेदवारी दिएर कांग्रेस उम्मेदवारसँग नै प्रतिपस्र्धा गर्ने घोषणा स्थानीय नेताले गरेका छन् ।
भरतपुर महानगर माओवादीलाई दिने आन्तरिक सहमति गठबन्धनभित्र भएपछि कांग्रेसका ५० भन्दा बढीले राजिनामा दिँदै स्वतन्त्र उम्मेदवारी दिने उद्घोष गरेका छन् । स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको क्रियाशील र साधारण सदस्यको भेलामा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन् ।
यस्तै, कांग्रेसले जनकपुरधाम उपमहानगर गठबन्धन नगर्ने निर्णय गरेसँगै सत्तारूढ दलबीच गठबन्धनको सम्भावना टरेको छ । २०७४ सालको निर्वाचनमा जनकपुरधाममा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए । साहका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १ सय ६४ मत प्राप्त गरेका थिए । कलैयामा गत निर्वाचनमा कांग्रेसका राजेश यादव मेयरमा विजयी भएका थिए । जसपाबाट प्रमोद गुप्ता झिनो मतले पराजित भएका थिए । तीन दलीय गठबन्धनले संविधान सभाका सभासद समेत रहेका गुप्तालाई साझा उम्मेदवार बनाएर चुनावी मोर्चामा होमिएको घोषणा शनिबार कलैयामा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । कांग्रेस नेता विमलेन्द्र निधि, संसदीय दलका नेता रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र्र पञ्जियार, नेता स्मृतिनारायण चौधरी, चन्द्रमोहन यादव र दिनेश प्रसैला पनि गठबन्धनको विरोधमा रहेको साहले बताए । यसैगरी सिन्धुली, मोरङ, ललितपुर, काठमाडौं, पोखरा, नेपालगन्जलगायतका ठाउँमा समेत पाँच दलीय गठबन्धनलाई साझा उम्मेदवार बनाउन सकस भएको छ । ठाउँ ठाउँमा एकले अर्कोलाई अस्वीकार गर्दै एकलै निर्वाचनमा भिड्ने गठबन्धनभित्रका दल र नेताले घोषणा गर्न थालेपछि शीर्ष नेताहरू समेत अप्ठ्यारोमा परेका छन् । जसपाले पुनः साहलाई नै मेयरको उम्मेदवार बनाउन लबिङ गरिरहेको छ । नगर सभापतिसमेत रहेका मनोज साहले उपमहानगरको २५ वटै वडाले गठबन्धन गर्न नहुने बताए । उनले कांग्रेसलाई मेयर र उपमेयर दिएमा गठबन्धन मान्ने अन्यथा नमान्ने बताए । तर, गठबन्धनभित्रै रहेका दलका नेताले सहमति हुन नसकेको अवस्थामा सत्तारूढ दलकै बीचमा समेत सौहार्दपूर्ण वातावरणमा प्रतिस्पर्धा हुन सक्ने बताउन थालेका छन् । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको चुनावमा सत्तारूढ दलबीच नै प्रतिस्पर्धा हुन सक्ने बताए । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन ७ सय ५३ पालिकामा एकै चरणमा हुँदै छ । सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेको कांग्रेसका वरिष्ठ नेता एवं स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा आफूहरूको विजयी सुनिश्चित रहेको ठोकुवा गर्दै छिट्टै नै साझा उम्मेदवार टुंगो लगाउने बताए । प्रवक्ता महतले महानगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयरबाहेकका सबै स्थानीय तहको उम्मेदवार सम्बन्धित कमिटीकै गठबन्धनले तय गर्ने बताए । उता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्र सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । गठबन्धन दलकै बीचमा सहमति हुन नसकेको अवस्थामा एक्लै चुनावमा होमिनुपर्ने बताउदै उनले सोहीअनुसार तयारीमा जुट्न निर्देशन दिएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले एमालेले चुनाव हार्ने तर सत्तारूढ गठबन्धन दलबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रन्डेली प्रतिस्पर्धा हुन सक्ने बताए । कुनै ठाउँमा गठबन्धन दलबीचमै आ–आफ्नो दाबी रह्यो भने त्यहाँ चुनावी प्रतिस्पर्धा हुने प्रवक्ता महतले बताए । अध्यक्ष नेपालले चुनावी तालमेलका क्रममा नेताले वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने धारणा राखे । उनले पोखरा महानगरमा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको बताए । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न सत्तारूढ दललाई चेतावनी समेत दिएका छन् । अध्यक्ष नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको समेत गुनासो गरेका छन् । त्यस्तै, कार्यक्रममा समाजवादीका सम्मानित नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारका कारण मुलुक संकटमा फसेको आरोप लगाए । उनले ६ महिनाको अवधिमा राष्ट्रव्यापी पार्टी बनाएको भन्दै एक वर्षभित्र नीति र सिद्धान्तअनुसार चल्ने देशको ठूलो पार्टी बन्ने दाबी गरे । अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएको दाबी गरेका छन् । उनले केपी ओलीको अहंकार अलि कति बढेको र यथार्थभन्दा बाहिर गएर बोलिरहेको उल्लेख गरे । ‘कम्युनिस्ट पार्टीको मार्गदर्शन पालना गर्नुपर्छ । कम्युनिस्ट पार्टीको नेतृत्वबाट मात्रै समाजवाद निर्माण हुन्छ । पार्टीभित्र विद्रोह आवश्यकता रहेकाले हामीले विद्रोह ग¥यौं’ उनले भने । ठीक वैचारिक कार्यदिशा लिएर अगाडि बढ्दै गए देशको सबैभन्दा ठूलो पार्टी एकीकृत समाजवादी हुने दाबी उनले गरेका छन् । गठबन्धनभित्र समेत सबैको जनमतका आधारमा सिटबाँडफाँड हुनुपर्ने उनले बताए ।