एउटै हात्तिको तीन करोडसम्म मूल्यमा नेपालका हात्ती भारतमा तस्करी

Share to:

रासंसा/पर्सा, चैत्र १२,

मुलुकका हात्ती भारतमा तस्करी हुने गरेको पाइएको छ। तस्करहरुले नेपालका घरपालुवा हात्ती तस्करी गरेर भारतका विभिन्न राज्यमा पुर्‍याएर बिक्री गर्दै आएको खुलेको हो। नेपालबाट तस्करी गरेर भारत लैजादै गरेका दुई वटा घरपालुवा हात्ती, भारतसँग सीमा जोडिएको पर्साको गाउँबाट शनिवार प्रहरीले बरामद गरेको छ। हात्तीसँगै पक्राउ पर्नेहरुमा माउतेद्वय चितवनको भरतपुर महानगरपालिका १८ जितपुर घर भएका ६० वर्षीय बुद्धिराम महतो, त्यही ठाउँका ४० वर्षीय राजु कुमाल रहेका छन्। पर्साको पकाहा मैनपुर गाउँपालिका- ५ पोखरीया टोलबाट प्रहरीले भारतमा तस्करी गर्न राखिएको अवस्थामा दुई वटा हात्तीसहित तीन जनालाई पक्राउ गरेको हो। डीएसपी खनालकाअनुसार, चितवनको सौराहा क्षेत्रबाट घरपालुवा हात्तीहरू, तस्करहरुले भारतको पन्जाब र यूपी प्रदेशमा लगेर बिक्री वितरण गर्दै आएको सूचना प्रहरीलाई एक वर्ष पहिले नै प्राप्त भएको थियो। हात्ती तस्करीको कारोबार गर्ने पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवाका ३५ वर्षीय सफरोज आलमलाइ पनि पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। त्यही क्रममा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटीएको प्रहरी टोली, शनिवार दिउसो पकहामैनपुर गाउँपालिका ५ पोखरीया टोलमा पुगेको थियो। त्यहाँ पुग्दा, तस्करहरुले दुई वटा हात्ती सीमापार लैजादै गरेको अवस्थामा पक्राउ गरिएको डीएसपी खनालले बताए। उक्त सूचनाका आधारमा प्रहरीले पर्साको सीमावर्ती क्षेत्रमा निगरानी पनि गर्दै आइरहेको थियो। खनालकाअनुसार, तस्करहरुले नेपालबाट भारतमा लगेर एउटा हात्ती उमेरअनुसार एक देखि तीन करोड रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए। शनिवार नियन्त्रणमा लिइएको दुवै हात्तीसहित तस्कर र माउतेहरुलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको छ।

Like