नवनिर्वाचित राष्ट्रियसभाका १९ सदस्यको शपथ
रासंसा/काठमाण्डौ, फाल्गुन २२,
मुलुकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ लिएका हुन्। नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ दिएका छन्। शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार हुन्। उनीहरुको कार्यकाल छ वर्षको हुनेछ। समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई सङ्घीय ससद्को प्रतिक चिह्न(लोगो) प्रदान गरे। सचिवालयका महासचिव डा. भरतराज गौतमले उनीहरुलाई सचिवालयको तर्फबाट सफल कार्यकालका लागि बधाई ज्ञापन गरे। नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि सङ्घीय कानुन अनुरुप शपथ लिनुपर्ने सवैधानिक व्यवस्था छ। शपथ लिन केही सदस्य आफनो जातीय वेषभूषासहितको पहिरनमा आएका देखिन्थे। राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सो अवसरमा सहभागी थिए। संसद् सचिवालयले उनीहरुलाई संसद् र संसदीय अभ्यासबारे आजै सङ्क्षिप्त जानकारी दिने कार्यक्रमसमेत राखेको छ।