संसद् नचले अब विघटन हुन्छ, हात्तीको कानमा चमेरोलाई ओत छैन, माओवादी–समाजवादीलाई काँग्रेस संस्थापन इतरको सन्देश

Share to:

रासंसा/फाल्गुन, २२

मुलुकमा नेपाली काँग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा आज एक कार्यक्रम गरी आगामी तीनै तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावमा जानुपर्ने सन्देश दिएको छ । विराटनगरमा आयोजित वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भूमिका विषयक विचार गोष्ठीमा गोष्ठीमा बोल्दै नेताहरूले गठबन्धन गरेर चुनावमा जान नहुने भन्दै विरोध गरेका हुन् । कार्यक्रममा काँग्रेस नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य चन्द्र भण्डारीलगायतका नेताहरूको उपस्थिति थियो । उपसभापति धनराज गुरुङले गठबन्धनका अन्य दलहरूलाई ‘हात्तीको कानमा झुण्डिएको चमेरो’ को संज्ञा दिँदै निर्वाचनसम्म गठबन्धन गर्नुपर्छ भन्ने अन्य दलको चर्को आलोचना गरे । ‘काँग्रेस हात्ती हो । कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ । हात्तीको ठूलो कानभित्र ओत लाग्न पाउँ भन्दै केही चमेराहरू निवेदन दिइरहेका छन्,’ गुरुङले भने, ‘हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ ।’ नेता शेखर कोइरालाले अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको बताउँदै आगामी तीन तहको निर्वाचनमा एक्ला एक्लै चुनावमा जाने बताए । ‘यो गठबन्धन संविधानलाई विस्थापित गर्ने कोसिस भएपछि बनेको हो र यो गठबन्धन चुनावसम्मको लागि मात्रै हो,’ कोइरालाले भने, ‘जिल्ला जिल्लामा नेताहरू एक्लै लड्नुपर्छ भन्छन् । काँग्रेसको सिद्धान्त कम्युनिस्टहरूलाई भोट हाल्ने होइन । काँग्रेस प्रदेश, संघ वा स्थानीय चुनावमा एक्लै लड्छ ।’ उनले ३० वैशाखमा स्थानीय तहको निर्वाचन भएरै छाड्ने बताए । ‘७५३ वटै पालिकामध्ये अधिकांशमा हामी जित्यौँ भने प्रदेश र संघमा पनि जित्छौँ,’ कोइरालाले भने, ‘मोरङका सबै पालिका जित्ने अवस्थामा हामी छौँ ।’ काँग्रेस महामन्त्री गगन थापाले पनि कम्युनिष्टहरुप्रति चर्को आलोचना गर्दै माले, मण्डले र मसाल एकै हुन् भन्दै लामो व्याख्या गरे । ‘समाजमा माले, मण्डले र मसाले एकै हुन्,’ थापाले भने, ‘काँग्रेस रक्षात्मक भएर होइन, ५ वर्ष शासन चलाउने भनेर दुई तिहाइ मत लिएको कम्युनिस्ट पार्टीले यसपटक धेरै जवाफ दिनुपर्नेछ ।’ उनले चुनावमा कसैलाई हार्छु जस्तो लाग्नु उसको कमजोरी भएको र स्वार्थमा सवार भएर गठबन्धन गर्नु काँग्रेसका लागि हानिकारक भएको बताए । ‘कसैलाई हार्छु कि भन्ने लाग्छ भने त्यो उसैको कमजोरी हो,’ उनले माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीतर्फ इङ्गित गर्दै भने, ‘स्वार्थमा सवार भएर एकता वा गठबन्धन गर्नु आवश्यक छैन ।’ सोही कार्यक्रममा बोल्दै काँग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि गठबन्धन गरेर चुनावमा जान नहुने भन्दै माओवादी र नेकपा एसको तीव्र आलोचना गरे । उनले भने, ‘हाम्रो जहाजमा बसेर केही साथीहरू सवार गर्न खोजिरहेका छन्, निर्वाचन जित्ने अनि सत्तामा जाने कुरा कल्पना गरिरहेका होलान्, त्यस्तो कल्पना नगर्नुहोस् ।’ उनले काँग्रेसले आफूले मेहनत गर्ने र माओवादी, समाजवादी वा जसपाले पनि आफ्नो मेहनत गर्नुपर्नेमा जोड दिए । यद्यपि उनले गठबन्धनले केही नेताको संवेदनशीलतालाई ख्याल गरेर केही ठाउँमा तालमेल हुनसक्ने बताए । उनले भने, ‘तीनै तहमा पूराका पूरा गठबन्धन हुँदैन ।’ कार्यक्रममा बोल्ने काँग्रेस नेता भण्डारीलगायत अन्यले पनि गठबन्धन गरेर जान नहुने बताएका थिए । ५ वर्ष शासन गर्छु भनेर दुई तिहाइ नजिकको मत लिएर आएको नेकपाले शासन सत्ता चलाउन ढङ्ग नपुर्‍याएको कारण २३ सिट जितेर पनि काँग्रेसले सत्ता चलाउनु पर्ने बाध्यात्मक अवस्था आइपरेको उनले बताए । ‘पाँच वर्ष शासन गर्छु भन्ने तत्कालीन नेकपाले तीन वर्ष पुग्दा नपुग्दै एकथरी घर पोलेर खरानी घस्दै नाच्न थाले, अर्को थरी हामीलाई घरबाट लखेटियो भन्दै लाइन लागेर सरकार चलाइदिनुपर्‍यो भन्दै काँग्रेसलाई अनुरोध गर्न आए । त्यही कारण २३ वटा सिट जितेको काँग्रेसले केन्द्र सरकार चलाउनु परेको छ,’ उनले भने । थापाले वैशाख ३० गतेको निर्वाचन १ दिन पनि तलमाथि नहुने बताउँदै संसद् चल्नै नसक्ने अवस्थामा वा बीचैमा संसद् विघटन भए पनि स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताए । उनले चैत मसान्तसम्ममा काँग्रेसले सबै स्थानीय तहका उम्मेदवारको नामावली फाइनल गर्ने पनि दाबी गरे ।

Like