प्रधानमन्त्री देउवाले चिकित्सकसँग भने– गिरी फटाहा नै हुन्, बीपीका उपकुलपति नक्कली प्राडा ! हट्यो ‘प्रा’को फुर्को
रासंसा/काठमाण्डौ, पौष २३,
‘प्रोफेसर नै नभई गिरीले प्रा.डा. लेखेका थिए । हामीले उनको एकाडेमिक योग्यतामाथि प्रश्न उठाएपछि त्यसको सामना गर्न नसकी ‘प्रा’ हटाएर अर्को नेमप्लेट बनाएका छन्’ बीपी प्रतिष्ठानका एक कर्मचारीले रातोपाटीसँग भने,‘आफैँले प्राध्यापक नरहेको स्वीकार गरिसकेपछि अब गिरी उपकुलपतिका लागि योग्य रहेनन् ।’ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी नक्कली प्रोफेसर भएको खुलेको छ । उनले आफ्नो नेमप्लेटमा प्रा. डा. ज्ञानेन्द्र गिरी लेखाएका थिए । तर, व्यापक विरोध भई छानबिनको दायरामा समेत आएपछि उनले नेमप्लेट फेरेर ‘डा. ज्ञानेन्द्र गिरी’ मात्रै लेखेका छन् । त्यसो त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत ६ महिनादेखि गिरीसहितका पदाधिकारीविरुद्ध चिकित्सक, कर्मचारी र विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन् । उपकुलपछि गिरी कार्यकक्षमा मादक पदार्थ सेवन गरेर आएको कर्मचारीले आरोप लगाएका छन् । त्यसैगरी टीके प्रधानबाट राजनीतिक नियुक्ति गर्ने प्रचण्ड बन्द गरिनुपर्ने र प्रतिष्ठानका पदाधिकारीहरूको नियुक्ति सम्बन्धी नयाँ मापदण्ड बनाउनुपर्ने आन्दोलनरत पक्षको माग छ । प्रतिष्ठानमा बेथिति र भ्रष्टाचार बढेको भन्दै आन्दोलन भइरहँदा पनि सरकारले अहिलेसम्म यसमा ध्यान नदिएको गुनासो चिकित्सकहरूको छ । आन्दोलन चिकित्सक र कर्मचारीहरूले तत्कालै सिनेट बैठक बोलाएर डा. वैकुण्ठ अर्यालको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने र उपकुलपति गिरीमाथि कारबाही गरिनुपर्ने पहिलो माग राखेका छन् । भ्रष्टाचारजन्य अपराध गम्भीर हुँदाहुँदै पनि स्वास्थ्य र शिक्षामा हुने भ्रष्टाचार झनै गम्भीर भएकाले यसमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दालाई अदालतले फास्ट ट्रयाकमा हेर्नुपर्ने बीपीका चिकित्सक र कर्मचारीहरूको माग छ । रकम बुझाएर प्रतिष्ठानमा नियुक्ति लिने अनि उठ्ती धन्दामा लाग्ने गरेको भन्दै आन्दोलनकारीहरूले अधिकार सम्पन्न आयोग बनाएर सबै कर्मचारी र पदाधिकारीमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । यसैबीच, काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बनेको पर्सिपल्ट ०७८ असार ३१ गते प्रधानमन्त्री कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा बीपी प्रतिष्ठानको बेथितिबारे छानबिन समिति बनाएका थिए । सो समितिले साउन १८ गते प्रधानमन्त्री देउवासमक्ष सुझावसहितको प्रतिवेदनसमेत बुझाइ सकेको छ । यसैबीच हालै डा. गोविन्द केसीको अगुवाइमा केही चिकित्सकहरूले प्रधानमन्त्री देउवालाई भेटेर बीपी प्रतिष्ठानको भ्रष्टाचार र बेतिथि अन्त्य गर्न माग गरेका छन् । सो भेटका क्रममा प्रधानमन्त्री देउवाले उपकुलपति गिरीलाई ‘फटाहा’ को संज्ञा दिएको भेटमा सहभागी एक चिकित्सकले बताए । उनले भने ‘प्रधानमन्त्रीज्यूले गिरी फटाहा नै हो भन्नुभयो, तर अहिलेसम्म कारबाही गर्नुभएको छैन ।’ तर, प्रधानमन्त्री देउवाले अहिलेसम्म सो प्रतिवेदन कार्यान्वयन नै गराएका छैनन् । यतिसम्म कि अर्याल नेतृत्वको समितिले विभिन्न समयमा गरिसक्नुपर्ने कामहरुको कार्ययोजना नै बनाएर प्रधानमन्त्रीलाई बुझाएको थियो । प्रोफेसर हुँ भनेर ढाँटेको नेमप्लेट परिवर्तनबाटै प्रमाणित भइसकेको हुनाले तत्काल सिनेटको बैठक राखेर गिरीलाई कारबाही गर्नुपर्ने ती चिकित्सकले बताए ।’ स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि उपकुलपति गिरीमाथि कारबाही गरिने आश्वासन दिएको तर अहिलेसम्म कुनै कारबाही नभएको आन्दोलनरत चिकित्सकहरूको गुनासो छ ।