अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारहेडलाइन

कांग्रेसमा तरङ्ग, इनम सापकोटाको बयानको कारण गगनले केपी ओलीलाई भेटे

Share to:

रासंसा/काठमाण्डौ, कार्त्तिक १७,

मुलुकमा प्रहरी हिरासतमा रहेका इनम सापकोटाले प्रहरीमा दिएको भनिएकाे बयानमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकता हात पार्दा आर्थिक चलखेल भएको विषय उल्लेख भएपछि कांग्रेसमा तरङ्ग आएको छ । विशेष महाधिवेशनपछि पार्टी सत्ताबाट बाहिरिएका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मंगलबार पत्रकार सम्मेलन नै गरेर छानबिनको माग गरेको छ । देउवा समूहका नेता डा. प्रकाशशरण महतले सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरेर आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए । विशेष अधिवेशन विधि, प्रक्रिया मिचेर गरिएको जिकिर गर्दै अहिले नयाँ नयाँ कुरा पर्दाफास हुँदै आइरहेको डा. महतले भने । सापकोटाले प्रहरीसँगको बयानमा गत पुसमा तत्कालीन केन्द्रीय समितिको सहमतिबिना थापाको अगुवाइमा भएको विशेष महाधिवेशनलाई आधिकारिकता दिन आर्थिक लेनदेनको विषय उठाएका छन् । त्यसको सभापति थापा स्वयंले खण्डन गरेका छन् । उनको सचिवालय कांग्रेसका पदाधिकारीले पनि सरकारले आफ्नो कमजोरी लुकाउन सापकोटाको प्रयोग गरिरहेको बताएका छन् । ‘प्रहरी सोधपुछको क्रममा जे कुराहरू भन्यो भनेर बाहिर कुरा आइरहेको छ । यो त गम्भीर विषय हो । त्यसैले गम्भीर छानबिन हुनुपर्छ । यो छानबिनको गहिराइमा पुगेर निर्णय लिनुपर्छ,’ महतले भने । सभापति थापाको सचिवालयले इनमको बयानका नाममा कांग्रेससँग जोडेर सञ्चारमाध्यममा प्रकाशित समाचारहरू निराधार, कपोलकल्पित र भ्रम फैलाउने उद्देश्यबाट प्रेरित रहेको विज्ञप्तिमार्फत जनाएको छ । सरकारका पछिल्ला स्वतन्त्रता विरोधी गतिविधि र घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ । सभापति थापा आफैले सामाजिक सञ्जाल फेसबुकमा तर्साउने धेरै आए पनि तर्सिने बानी नपरेको उल्लेख गरेका छन् । विज्ञप्तिमा बिचौलियासँग सम्बन्धित विषय तथा त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने माग गरिएको छ । कांग्रेसको वैधानिकता र आन्तरिक निर्णय प्रक्रियामाथि प्रश्न उठाएकोमा नेता देवराज चालिसेको पनि आपत्ति जनाएका छन् । कांग्रेसका प्रत्येक साङ्गठनिक गतिविधि पार्टीको विधानअनुसार सञ्चालन हुने भन्दै पार्टीको वैधानिकता प्रमाणित गर्न सत्तापक्षको कुनै कृपापात्रको आवश्यकता नरहेको चालिसेले बताएका छन् । सोमबार सिंहदरबारमा आधिकारिकताका विषयमा संसदीय दलका नेता भीष्मराज आङदेम्बेलाई पनि पत्रकारले सोधेका थिए । उनले के भएको हो त्यो निष्पक्ष छानबिन हुनुपर्ने र छानबिनका लागि कांग्रेस तयार रहेको भन्दै तर्किने प्रयास गरे । ‘कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताद्वारा खडा गरिएको कुनै सिखण्डी, प्यादा वा कृपापात्रको आवश्यक पर्दैन, लाखौँ सदस्यको अभिमत, तिनको सहभागिता र पार्टीको वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै कांग्रेस सञ्चालनको आधार हो,’ चालिसेले भनेका छन् । यही अडियो बाहिर आएको बेलामा गत पुसमा भएको विशेष महाधिवेशनबाट सभापति भएपछि नभेटेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास गुण्डुमा पुगेर सभापति थापाले भेटेका छन् । मंगलबार साँझ दुई नेताबिच भएको भेटमा मधेस प्रदेश सरकारको विषयमा कुराकानी भएको कांग्रेसको मिडिया सेन्टरले उल्लेख गरेको छ । ‘नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच आज मधेस प्रदेशको सरकारका बारेमा छलफल भएको जानकारी गराइन्छ । मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको छ,’ मिडिया सेन्टरले पठाएको सूचनामा लेखिएको छ । भेटमा सोमबार भएको विपक्षी दलहरूको बैठकमा उठेका विषय र सरकारविरुद्ध सडक र सदनमा संयुक्त विरोधबारे पनि कुराकानी भएको बताइन्छ ।

Like