संशोधित कार्यविधि खारेज नभएसम्म लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न पत्रकार महासंघ तनहुँको आग्रह

अन्जनराज न्यौपाने गण्डकी
प्रदेश तनहुँ।
दमौली, ५ असोज
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले संशोधित कार्यविधि खारेज नभएसम्म लोककल्याणकारी विज्ञापनबापतको बिल नबुझ्न जिल्ला हुलाक कार्यालय तनहुँलाई आग्रह गरेको छ।
महासंघ तनहुँ शाखाले सोमबार जिल्ला हुलाक कार्यालय तनहुँमा ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो।
सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्ने घोषणा गरे पनि त्यससँग बाझिने गरी विज्ञापन बोर्डले कार्यविधि संशोधन गरेको महासंघको आरोप छ। संशोधित कार्यविधिका कारण छापा माध्यमले पाउँदै आएको मासिक रकममा भारी कटौती हुने भन्दै महासंघले विरोध जनाएको हो।
संशोधित कार्यविधि खारेज गर्न नेपाल पत्रकार महासंघले केन्द्रदेखि नै निरन्तर दबाब दिँदै आए पनि विज्ञापन बोर्डले बेवास्ता गर्दै बिल बुझ्ने प्रक्रिया अघि बढाएको भन्दै तनहुँ शाखाले गम्भीर असहमति जनाएको छ।
संशोधित कार्यविधि तत्काल खारेज गरी सञ्चारमाध्यमलाई पूर्ववत् रूपमा लोककल्याणकारी विज्ञापनको सुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै महासंघले चरणबद्ध विरोधका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएको छ।
महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सो कार्यविधि खारेज नभएसम्म कुनै पनि बिल नबुझ्न आग्रह गरिएको छ।
