ग्रीन डेभलपमेन्ट बैंकद्वारा दमौली प्रहरीलाई ४३ इन्चको स्मार्ट टिभी हस्तान्तरण

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहु।

दमौली – ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, दमौली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय दमौली, तनहुँलाई हिरासत कक्षमा रहेका कैदीबन्दीहरुको सहजताका लागि ४३ इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी, सहायक महाप्रबन्धक संयुक्त बहादुर धाख्वा र दमौली शाखा प्रमुख सुदिप न्यौपानेले संयुक्त रूपमा जिल्ला प्रहरी प्रमुख एसपी टेकबहादुर कार्कीलाई टिभी हस्तान्तरण गरेका हुन्।

प्रशासनिक कार्यलाई थप व्यवस्थित बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो सहयोग प्रदान गरिएको बैंकले जनाएको छ। आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले व्यक्त गरे।

हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी प्रमुख कार्कीले हिरासत कक्षमा रहेका व्यक्तिहरूलाई समाचार तथा अन्य कार्यक्रम हेर्न पाउँदा समय बिताउन सहज हुने बताए। उनले आगामी दिनमा पनि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई सहयोग गर्ने अपेक्षा राखेको बताए।

Like