काठमाडाैँकाे असन क्षेत्र ‘भेहिकल फ्री जोन’ घाेषित

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ०५,

मुलुकमा काठमाडौँ महानगरपालिकाले असन क्षेत्रलाई आजदेखि प्रत्येक शनिबार ‘भेहिकल फ्री जोन’ बनाएको छ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज यसको विधिवत् उद्घाटन गरेकी हुन् । अबदेखि हरेक शनिबार कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लागेको छ । यसका लागि इन्द्रचोक, मच्छिन्द्र बहाल, मांस गल्ली, गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ, न्हकेटलाबाट असनतर्फ र ज्याठा अन्नपूर्ण स्कुलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ । सवारी निषेध भएसँगै असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार हरेक शनिवार अबदेखि जमलतर्फ कःमिलाछी (कमलाक्षी) सिंह ढोकाबाट असनतर्फ, भोटाहिटी कलश ढोकाबाट असनतर्फ, वीर अस्पतालबाट महाबौद्ध स्तूपतर्फ, वटु गणेश र भोँसीकोस्थित गणेश मन्दिरबाट महाबौद्ध स्तूपतर्फ सवारी लैजान पाइने छैन । शनिबारका दिन असन आउने आगन्तुकहरूले धरहरा भूमिगत पार्किङ, जमल बहाल, दरबार हाईस्कुल तथा अन्य तोकिएका स्थानमा सवारी साधन राखेर पैदल यात्राबाट असन प्रवेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

Like