आज विश्व जल दिवस, गोरखकाली पूजा, शीतलाष्टमी व्रत
रासंसा/काठमाण्डौ, चैत्र ९,
विश्व जल दिवस
विश्वका सबै महादेश अनि देशहरूमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धता गराउने उद्देश्यका साथ यस दिवसको रूपरेखा तयार पारिएको हो । पानी छैन त जिन्दगानी छैन, यस अद्भुत पानीको मानव जिवनसँगको अटुट नातालाई आत्मसाथ गर्दै आज मार्च २२ तारिखका दिन विश्व समुदायले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय पानी दिवस मनाउँदै छ । सन् १९९३ देखि यस दिवसको क्रम सुरु भएको हो । सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र सङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको जल दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ मा प्रथम विश्व जल दिवस मनाइयो । सन् २०२५ को विश्व पानी दिवसको नारा “Glacier Preservation” यो नारा विश्व पानी दिवस पानी र सरसफाइ सङ्कट समाधान गर्न को लागी परिवर्तन को गति को बारे मा केन्द्रित छ । अहिले, हामी दिगो विकास लक्ष्य एसडिजी ६ अनुरूप सबैका लागि पानी र सरसफाइ पूरा गर्न गम्भीर रूपमा चुकिरहेको अवस्थामा छौँ । आज पनि विश्वभरिका अरबौँ मानिसहरू र अनगिन्ती स्कुलहरू, व्यवसायहरू, स्वास्थ्य सेवा केन्द्रहरू, फार्महरू र कारखानाहरूमा उनीहरूलाई आवश्यक पर्ने सुरक्षित पानी र शौचालयहरू को सुविधाबाट वञ्चित छन् । परिवर्तनलाई गति दिन, हामीलाई थप पैरवी चाहिन्छ भन्ने कुरालाई ध्यानमा राख्दै पानीको मूल श्रोतका रुपमा हिमनदिलाई जोगाउन सन् २०२५ को विश्व पानी दिवसको नारा नै Glacier Preservation भन्ने छ । हिन्दु संस्कारमा पनि त पञ्चतत्वको रूपमा जलतत्वको अत्यन्त महत्त्वपूर्ण र अद्भुत प्रस्तुति रहेको छ । मेलम्चीको पानीको वृत्तान्त सुन्दासुन्दै दुई वटा पुस्ता सुइँकिसकेपछि नाति पुस्तामा मेलम्चीको नालाहरू राख्न गरिएको कसरतले उडेका धुलोका बादल र खाल्डाका गहिराई ले सफा पानीको सहज उपलब्धताको कठिनाइ व्याख्या गरेको छ । फोहोर र दूषित पानीले ल्याउने रोगहरूजस्तै जन्डिस, टाईफोईड, झाडापखाला आदीहरू त हामीले भोगेकै हौ । पानी र इन्धन निकटरुपमा अन्र्तसम्बन्धीत छन् , पानी घट्ट देखि ठूलाठूला जलविद्युतसम्म पानीको शक्तिले चलायमान छन् । अर्को तर्फ संसारको कुल इन्धनको ८ प्रतिशत इन्धन खपत भने उपभोक्तासमक्ष शुद्ध पिउने पानीलाई पम्प गर्दै विभिन्न पाइप र नलका माध्यम वाट पूर्याउन लाग्ने रहेछ । २१सौँ शताब्दीको सँघार सम्म आइपुग्दा पनि शुद्ध पिउने पानीको समान वितरण संसारको लागी ठुलो चुनौती नै रहेको छ । संसारको दोस्रो जलश्रोतको धनी देश भनी नाम कहलिएको नेपाल अनि जलश्रोतसँगै लुटपुटिएर हुर्केका नेपालीहरू आफ्ना जलका सिर्काहरू प्रति कत्तिका वफादार हुन सकेका छौ, जनता देखि सदनसम्मले पछाडि फर्केर हेर्न पनि जरुरी छ । सबै जीवित प्राणीहरूको उत्पत्ति जल मा भएको भन्ने तथ्य निर्विवाद छ । अब त वैज्ञानिकहरूले यस ग्रहमा मात्र नभई अन्य ग्रहहरूमा पनि पानीको खोजी गर्न थालेका छन् । पानी बिना जीवन सम्भव छैन, यसर्थ पानी भएको ग्रहमा जीवनको सम्भावना खोजी गरिएको हो । हाम्रो आफ्नै ग्रहमा पनि हरेक संस्कृति र सभ्यता खोला किनारमा नै विकास भएको हो । हाम्रा कुवा, पँधेरो, पोखरीहरू आदि धेरै पानीका मुहानहरू आज घना बस्तीहरूमा परिणत भइसकेका छन् । बढ्दो सहरीकरणले पानीको श्रोत र शुद्धता दुवै कुराहरूलाई चुनौती गरिरहेका छन् । आजका दिन यी कुराहरू र तथ्यहरूलाई विश्लेषण गरिन्छ । विश्वमा हुने रोगहरुमध्य सर्वाधिक धेरै रोग सफा पिउने पानी उपलब्ध नहुनाले भएको पाइन्छ । यसरी संस्कृति र सभ्यताको रक्षा गर्ने अनि जीवनलाई सार्थक तुल्याउने पानीको सहज र सुलभ उपलब्धता अनि यसको सुरक्षित र मितव्ययी प्रयोगका कुराहरू जल दिवसमा गरिन्छ । पर्यावरण, कृषि, स्वास्थ्य र शिक्षा सबैतर्फ जल संरक्षणका आवाजहरू आउन्, जल वाट हुने प्राकृतिक विपत्तिहरू जस्तै बाढी, पहिरो लगायत अन्य कुराहरू घट्दै जाउन् । पानी हाम्रो जीवन हो र शुद्ध पिउने पानी हाम्रो अधिकार र कर्तव्य दुवै । जानौँ, बुझौँ र सचेत रहौँ । पानी दिवसको मूल मर्म अनुरूप हाम्रो व्यवहार होस् ।
गोरखकाली पूजा
ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तुते॥
विजयी (जयन्ती), शुभ (मंगला), काली (उग्र), भद्रकाली (कपालिनी) र कपाल धारण गर्ने देवीलाई नमस्कार छ। उनी दुर्गा (अपराजेय), शिव (शुभ), क्षमा (क्षमाको अवतार), धात्री (समर्थक), र पवित्र उपहार (स्वाह र स्वाधा) हुन्। यो श्लोक प्रायः सुरक्षा, सफलता, र आध्यात्मिक शक्तिको लागि देवीको आशीर्वादको लागि मन्त्रोच्चारण गरिन्छ ।
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ । यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ । यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ । गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो । बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
शीतलाष्टमी व्रत
बन्दे, हंशीतलादेवी रासभस्थांदिगम्बराम्।।
मार्जनीकलशोपेतां सूर्पालंकृतमस्तकाम्।।
यस मन्त्रको अर्थ हुन्छ, गधाको पिठ्युँमा आसीन, दिगम्बरा, हातमा कुचो, र कलश धारण गर्ने भएकी, टाउकामा नाङ्गलो बोकेकी भगवती शीतलाको म बन्दना गर्दछु । लगभग वर्षको ३६५ दिन केही न केही आव्हान र विशेष अर्चना रहने उल्लास रहेको सनातन सभ्यतामा धेरै तिथिहरु विलुप्त हुँदै अनि तिनको महत्व आउँदा पुस्ताले बुझ्न नपाउने गरी हराउँदै गएको छ । नेपालमा सर्वाधिक डाउनलोड गरिएको मोवाइल एप्लीकेशन सनातन सभ्यताका यी दिनहरुलाई प्रविधिका माध्यमबाट परिभाषित गर्दै आएको छ । चैत, बैशाख, जेठ र असार महिनामा कृष्णपक्षको अष्टमी तिथिमा शीतला अष्टमीको व्रत पर्छ । प्राकृतिक प्रकोप र रोगव्याधीको प्रभावबाट जोगाउने शीतला भगवतीको आह्वान र उपासना गर्ने शीतलाष्टमी व्रतको आफ्नै महत्व र उपलब्धि छ । शीतलाष्टमी व्रतलाई तराई क्षेत्रमा बसौडा र काठमाडौं उपत्यकामा बासेरा पनि भनिन्छ । ग्रीष्मकालमा पर्ने यस व्रतलाई घाउँ–खटिरा र घमौराबाट बच्न विशेष रुपमा उपासना गरिन्छ । यस दिन व्रतालुको घरमा चुलो बल्न हुँदैन भन्ने मान्यता छ । यसअर्थमा एक दिन अगावै प्रसाद र नैवेद्यहरु बनाउने र भोलिपल्ट ती प्रसादहरु शीतला भगवतीलाई चढाउने चलन छ ।