८ लाख कामदार मलेसियाले प्लान्टेसन सेक्टरमा लिने
रासंसा/काठमाण्डौ, पौष २६,
मुलुकमा मलेसियाले पाम आयल प्लान्टेसनमा ८ लाख कामदार लैजाने भएको छ । सारवाकलाई राज्यव्यापी पाम तेल बगैंचामा ८ लाखभन्दा बढी कामदार आवश्यक रहेको जनाएको छ । त्यहाँका खाद्य उद्योग, कमोडिटी र क्षेत्रीय विकासमन्त्री डाटुक सेरी डा. स्टिफन रुन्डी उटोमले तत्काल यी कामदार चाहिने बताएका छन् । उनले कामदारको अभावलाई सम्बोधन गर्न साल्क्राले इन्डोनेसियाका जकार्ता र लोम्बोकजस्ता धेरै ठाउँमा मलेसिया आउन कामदारसँग अन्तर्वार्ता लिएको बताए । ‘हामीले श्रम र अध्यागमन विभागसँग समन्वय गर्नुपर्छ, मलेसियामा कामदारहरू सामान्यतया ४५ दिनभित्र आइपुग्छन् तर हाम्रो मामलामा अझै पनि ९० दिन वा बढी लाग्छ,’ उनले थपे । मन्त्री डा. स्टिफन रुन्डीले यस तथ्यांकमा सारवाक भूमि एकीकरण तथा पुनस्र्थापना प्राधिकरण (साल्क्रा)द्वारा व्यवस्थित वृक्षरोपण मात्र समावेश गरिएको र अन्य कृषि क्षेत्रलाई समावेश नगरिएको बताए । ‘लगभग, हामीसँग राज्यमा १ दशमलव ६२ मिलियन हेक्टर (तेल पाम बगैंचाको भूमि) छ,’ मन्त्री डा. स्टिफन रुन्डीले इन्डोनेसियाको पाँचदिने भ्रमणबाट फर्किएपछि पत्रकार सम्मेलनमा भने, ‘हामीसँग ठूलो समस्या छ, फसलको अभाव, प्रत्येक कामदारले दिनमा १ दशमलव ५ टन बाली काट्नुपर्छ, हामीले पर्याप्त कामदार नहुँदा पैसा र अवसर गुमाउँछौं,’ । साल्क्राको वृक्षरोपण कार्यलाई सहयोग गर्न इन्डोनेसियाबाट आयल पाम प्लान्टेसनका कामदारहरूको भर्ती प्रक्रियालाई सारवाकले सरल बनाउने मन्त्री डा. स्टिफन रुन्डीले बताए । ‘प्लान्टेसन सेक्टरका लागि मात्र हो, फेरि कसैले मलेसिया पुगेर भिसा परिवर्तन गरिदिन्छु भन्ला, त्यो भ्रममा नपर्नुहोला,’ नेपाली दूतावासका जनसम्पर्क अधिकृत गिरीले भने, ‘कुनै पनि दलालले प्लान्टेसनको भिसा दिलाएर मलेसिया पठाउने अनि यहाँ आइपुगेपछि कम्पनीको भिसा दिन्छु भन्यो भने नजानुहोस्, अहिले मलेसियामा रोजगारी खुलेको खाली प्लान्टेसन सेक्टरका लागि मात्रै हो ।’ मलेसियास्थित नेपाली दूतावासका जनसम्पर्क अधिकृत जयप्रकाश गिरीका अनुसार अहिले मलेसियामा रोजगारी खुलेको तर प्लान्टेसनका लागि मात्र दूतावासले अप्रुभलहरू दिइराखेको बताए । प्लान्टेसन भनेको जंगलमा बसेर रूखहरूको काम गर्नुपर्ने बताउँदै उनले काम निकै गाह्रो हुने भएकाले बुझेर मात्र आउन अनुरोधसमेत गरेका छन् । हाल मलेसियामा विभिन्न पेसामा गरी झन्डै ४ लाख नेपाली कामदार कार्यरत छन् ।