आममाफीको अवधि यूएईमा दुई महिना थप
रासंसा/काठमाण्डौ, मार्ग ०८,
संयुक्त अरब इमिरेट्स (यूएई)ले कम्पनी छाडेर भागेका, भिसाको म्याद सकिएर ‘ओभरस्टे’ भएर बसेका नेपालीसहित आप्रवासी कामदारहरूलाई दिएको आममाफीको अवधि दुई महिना थपेर ३१ डिसेम्बरसम्म कायम गरेको छ । अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै यसमा आफू कार्यरत कम्पनीबाट भागेकाहरू (रनवे), त्यहाँको अध्यागमन नियम उल्लंघन गरेकाहरूलाई पनि सहभागी हुन अनुरोध गरेको छ । अवैधानिक भएकाहरू त्यहाँको सरकारले तोकेको प्रक्रिया पूरा गरेर वैधानिक रूपमा यूएईमै रहन तथा नेपाल फर्केर पुनः यूएई जानसक्ने कानुनी आधार निर्माण हुने दूतावासले जनाएको छ । यूएई सरकारले गत १ सेप्टेम्बरदेखि ३० अक्टोबरसम्म दुई महिनासम्मका लागि आममाफीको समयसीमा तोकेको थियो । ३१ डिसेम्बरसम्म चल्ने यो दुई महिनाको योजनाले उल्लंघन गर्नेहरूलाई या त आफ्नो स्थिति नियमित गर्न वा प्रतिबन्ध, जरिमाना वा एक्जिट शुल्कबिना देश छोड्न अनुमति दिनेछ । ‘ओभरस्टे’ भनेको भिसामा तोकिएको भन्दा लामो समयसम्म गन्तव्य देशमा रहनु भन्ने हुन्छ । यसरी बस्नुलाई गैरकानुनी वा अवैधानिक मानिन्छ । ‘एम्नेस्टी २०२४’ मा सहभागी हुन यूएईको अध्यागमनसँग सम्बन्धित जरिमाना र शुल्कहरू तिर्नु नपर्ने दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आममाफीको सुविधा उपयोग गरी नेपाल फर्कन चाहने व्यक्तिहरूका लागि ट्राभल डकुमेन्ट उपलब्ध गराउन दुबईस्थित अल अविर अध्यागमनमा रहेको हेल्प डेस्कमा प्रत्येक साताको बुधबार दूतावासबाट कर्मचारीहरू खटिने भएकाले सोही दिन मात्र सेवा लिन अनुरोध छ । अगस्टसम्म काम गर्ने भिसामा भाग्नु अथवा ओभरस्टे फाइनमा परेका तथा सो अवधिसम्म अध्यागमन नियम उल्लंघन गरेका व्यक्तिहरूले मात्र आममाफीको सुविधा पाउनेछन् । १ सेप्टेम्बरदेखि जरिमानामा परेका तथा अध्यागमन नियम उल्लंघन गरेका व्यक्तिहरूलाई यस आममाफीको सुविधा लागू हुने दूतावासले जनाएको छ । ट्राभल डकुमेन्ट बनाउन जाँदा दूतावासको सूचनामा उल्लेख भएका प्रक्रियाहरू पूरा गरी जानसमेत अनुरोध गरिएको छ । आममाफीको सुविधा उपयोग गरी कानुनी रूपमा यूएईमै बस्न वा स्वदेश फर्कन चाहनेहरूका लागि आवश्यक सहयोग गर्न गैरआवासीय नेपाली संघ, यूएई, नेपाली समाज, यूएई तथा यूएईमा रहेका विभिन्न संघसंस्था र समाजहरू एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई दूतावासले अनुरोध गरेको छ । यसरी एकतर्फी यात्रा अनुमतिपत्र (टीडी)प्राप्त व्यक्ति अनिवार्य रूपमा १४ दिनभित्र नेपाल फर्किनुपर्ने हुन्छ । आममाफी पाएकाहरूले दूतावासले उपलब्ध गराएको ह्वाट्स एप नम्बरमा मात्र सम्पर्क गर्ने सकिने दूतावासले जनाएको छ ।दूतावासका अनुसार नेपाल फर्किन चाहनेको हकमा भने हवाई टिकटको व्यवस्था स्वयंले गर्नुपर्ने हुन्छ । प्रक्रिया पूरा गरी नेपाल फर्केको व्यक्ति फेरि यूएई फर्किन चाहे कुनै बाधा नपर्ने पनि दूतावासले जनाएको छ ।