कतार एयरवेज आजदेखि भैरहवाबाट दैनिक उडान गर्दै
रासंसा/रुपन्देही, कार्तिक २७,
मुलुकमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान गर्ने भएको छ। कतार एयरवेजको उडानसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या ५ पुग्नेछ। कतार एयरवेजले काठमाडौंबाट दैनिक चार उडान गर्दै आएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मतसम्भार सुरु भएको कारण दुई उडान कटौती भएपछि एयरवेजले भैरहवालाई ट्रान्जिट बनाएर दैनिक एक उडान सुरु गर्ने भएको छ। भैरहवा विमानस्थलबाट कतार एयरवेजले मंगलबारदेखि दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एक उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। दोहाबाट उडान भर्ने एयरवेजको विमान प्रत्येक दिन अपराह्न २ः४५ बजे भैरहवामा अवतरण गरेर यहाँबाट अपराह्न ४ः४५ बजे काठमाडौं हुँदै दोहा प्रस्थान गर्ने तालिका छ। एयरवेजले मंसिर १५ गतेसम्म उक्त रुटमा दैनिक एक उडान गर्ने गरी प्राधिकरणमा जाडोयामको तालिका पेस गरेको थियो। आइतबार प्राधिकरणले स्वीकृत गरेसँगै एयरवेजको भैरहवाबाट उडान गर्ने बाटो खुलेको हो। उनका अनुसार मंसिर १५ गतेसम्मका लागि पेस गरेको तालिका स्वीकृत भएकाले एयरवेजले १९ वटा उडान गर्ने अनुमति पाएको छ। भैरहवा विमानस्थलबाट गत शुक्रबारदेखि थाई एयर एसिया सातामा दुईवटा र शनिबारदेखि नेपाल एयरलाइन्स सातमा चार वटा, फ्लाई दुबईले दैनिक एउटा र जजिरा एयरवेजले सातामा तीनवटा नियमित उडान थालिसकेका छन्।