मालपोतका कर्मचारी सरुवा प्रक्रियामा छानबिन
रासंसा/काठमाण्डौ, कार्तिक ११,
मुलुकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद सापकोटाले चार सयभन्दा बढी कर्मचारी एकै पटक सरुवा गरेको विषयमा छानबिन सुरु गरेको छ । सरुवासम्बन्धी छानबिन गर्न मन्त्रालयले भूमि मन्त्रालय प्रशासन महाशाखाका सहसचिव मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य छन् । समितिले निजामती कर्मचारी ऐन र नियमावली तथा मालपोतको स्थापित परम्पराअनुसार सरुवा भएको छ कि छैन भनी अध्ययन गर्नेछ । छानबिन गरेर प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ । जग्गाको धेरै कारोबार हुने कार्यालयहरूमा जथाभावी सरुवा गरिएकाले आर्थिक चलखेलको समेत आशंकामा छानबिन सुरु गरिएको हो । सापकोटाले गत असोज १४ र १५ को निर्णयबाट ४५ शाखा अधिकृत, २ सय २५ नायब सुब्बा र १ सय ४ खरिदार र ४४ कम्प्युटर अपरेटर गरी ४ सय १८ जनाको सरुवा गरेका थिए । एकैपटक ठूलो संख्या सरुवा गरिएपछि कर्मचारीहरूले अभिलेख विभागमा धर्ना दिएका थिए, जसका कारण सापकोटा कार्यालय जानै छाडेका थिए । सापकोटाले गत साउनमा पनि ७० कर्मचारीको सरुवा गरेका थिए । त्यतिबेला पनि जथाभावी सरुवा गराएको भन्दै कर्मचारीहरूबाटै विरोध भएको थियो । विभागमै राख्न अनुचित देखेपछि मन्त्रिपरिषद्ले गत कात्तिक १ मा सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो । उनले जग्गा किनबेचको कारोबार बढी हुने उपत्यकाका भक्तपुर, कलंकी, ललितपुर, डिल्लीबजार लगायतका कार्यालयमा आफू निकटलाई पठाएको र एउटै व्यक्तिलाई पटक–पटक अवसर दिएको आरोप कर्मचारीले लगाएका छन् । उनीहरूले सरुवा रद्द गर्नुपर्ने माग गर्दै आएका छन् ।