संस्कृतिमा ‘मधुर क्रान्ति’ व्यासासनमा आचार्य दमाई
रासंसा/काठमाण्डौ, श्रावण २६,
मुलुकमा ‘आयो दमाई रमाईरमाई, बस्यो सियो समाई’ बोलको गीत कुनै बेला चर्चित थियो। अहिले समय फेरिएको छ। अब दमाई जातिका मानिस लुगा मात्र सिउँछन् भन्ने रहेन। समाजका हरेक क्षेत्रमा उनीहरू अगाडि बढेका छन्। त्यसको पछिल्लो उदाहरण बनेका छन्, आचार्य कृष्ण दमाई। एक महिनादेखि पशुपतिनाथको मन्दिरमा आयोजना भइरहेको कोटि होममा आचार्य कृष्ण दमाईले भागवत समाउँदै व्यासासनमा बसेर कथा वाचन गरेका छन्। घरमा आएका दमाईलाई दुध–दही दिन नहुने भन्ने कुरा सानोमा आफूले सुनेको बताउने उनले अहिले दमाई महाराजको प्रवचनबाट लाभ लिन पाएको सुनाए। ‘आज हामीले उहाँबाट ज्ञानको नौनी उपहार पाएका छौं,’ दाहालले भने, ‘उहाँको प्रवचन सुन्न पाएर म निकै खुसी छु।’ दमाईले छोएको कपडा चल्ने पानी नचल्ने संस्कारमा हुर्केकाहरू पनि उनको प्रवचन सुनेर रमाए। ‘केही समयअघि रिलमा प्रकाश सपुत कृत ‘दमाई महाराज’को प्रवचन सुनेको थिएँ,’ आचार्य कृष्णको प्रवचनमा सहभागी नेत्र दाहाल भन्छन्, ‘आज साँच्चिकै दमाई महाराजबाट रियलमा प्रवचन सुन्न पाएँ।’ उनी पहिलोपटक कोटि होम महायज्ञमा दलित समुदायका पण्डित व्यासासनमा पुगेका हुन्। उनलाई महायज्ञ स्थलमा निम्त्याएर स्वागत र सम्मान गरिएको थियो। उनलाई स्वयंसेवकले दुबोको माला लगाइदिएका थिए भने महायज्ञका आयोजक विजयकृष्ण मूर्तिले दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेका थिए। व्यासासनमा बसेसँगै आचार्य कृष्ण दमाई निकै खुसी देखिए। उनलाई व्यासासनमा राखेर थप सम्मान गरिएको थियो। उनले पशुपतिको चरणमा स्वर्गको महसुस भएको सुनाए। जन्मँदै कोही पनि ब्राह्मण नहुने भन्दै उनले जसले भागवत अध्ययन गर्छ, सत्कर्म गर्छ, त्यही ब्राह्मण हुने बताए। ‘सुरुमा संस्कृत अध्ययन गर्दा यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे,’ उनले भने, ‘मैले कर्मकाण्डका लागि भन्दा पनि विद्वताका लागि र सनातन धर्म र जन्मभूमिका लागि यो विषय अध्ययन गरेको हुँ।’ ‘एउटा शूद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्महरूमा मलाई समावेश गराउने आदरणीय गुरुहरूमा नमन गर्छु,’ उनले भने, ‘मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मैले त नेपालको राष्ट्रदेव पशुपति देवको चरणमा स्वर्ग प्राप्त गरेको छु।’ उनले धर्मले समाजलाई विभाजित गरेको नभएर एक बनाएको धारणा राखे। ‘धार्मिक रूपले विध्वंश मच्चाई एकअर्कामा विभाजित गरी सनातनलाई सिध्याउने षड्यन्त्र भएको छ,’ उनी भन्छन्, ‘तर हिन्दु सनातनले सहँदै आएको छ। अब हामी हिन्दुत्वका लागि, सनातनका लागि एकबद्ध रहनुपर्छ।’ उनको प्रवचन सुनेपछि सामाजिक सञ्जालमा निकै प्रतिक्रिया आएका छन्। धेरैले यसलाई सांस्कृतिक क्रान्तिका रूपमा लिएका छन्। ‘जातीय विभेद र असमानताविरुद्ध धेरै कुरा भए,’ सामाजिक सञ्जालमा अनुप थापा लेख्छन्, ‘तर आज पशुपति प्रांगणमा आचार्य दमाईको व्यासासनसँगै मधुर क्रान्ति भएको छ।’ बैतडी घर भएका दमाईले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गरेका छन्। यसअघि उनले कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तरमध्यमा र शास्त्री उत्तीर्ण गरेका थिए। उनी दलित समुदायका पहिलो आचार्य हुन्। २०६४ मा स्थानीय बैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका कृष्ण सामाजिक रूपमा दलित समुदायमाथि हुने विभेद चिर्न संस्कृत अध्ययनमा जुटेका हुन्। उनले नेपाल संस्कृत विश्वविद्यालय शारदा विद्यापीठमा तीन महिने भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि उत्तरमध्यमा (प्रवीणता प्रमाणपत्र तह) अध्ययन सुरु गरेका दमाईले संस्कृतबारे चाख लागेर र उक्त विषयमा जातीय रूपमा विभेद रहे/नरहेको थाहा पाउन संस्कृत अध्ययन थालेको सुनाउँछन्।