ग्यासको मूल्य प्रयोजनअनुसार कायम गरिँदै

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ३०,

मुलुकमा खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भएको छ। घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य कायम गर्ने तयारी गरिएको नेपाल आयल निगमले जनाएको हो। हाल घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य कायम गरिएको हो। बजारमा खाना पकाउने एलपी ग्यासको मूल्य १ हजार ९ सय १० रुपैयाँ रहेको छ। एलपी ग्यासमा परल मूल्य कायम गरी घरायसी प्रयोजनमा उपभोग गर्नेलकाई ‘क्यास ब्याक’ गर्ने योजना रहेको निगमले जनाएको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले दुई थरी मूल्य तय गर्न कार्ययोजना बनाउन लागिएको जानकारी दिए। उपभोक्तालाई सहुलियत दिनका लागि दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको भट्टले बताए। राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहकलाई दोहोरो मूल्य कायम गरी सहुलियत दिने तयारी गरेको निगमले जनाएको छ। पाँचतारे होटेलदेखि सडक पेटीमा चिया बिक्री गर्ने र सर्वसाधारण उपभोक्तालाई एउटै मूल्य हुँदा उपभोक्ता मारमा परेका छन्। यसैबीच, खाना पकाउने एलपी ग्यासको आयातमा २ अर्ब रुपैयाँले कमी आएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आवको ११ महिनामा ५१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँबराबरको ४ लाख ८१ हजार ६ सय २५ टन ग्यास आयात भएको छ। गत आर्थिक वर्षको उक्त अवधिमा ५४ अर्ब ३२ करोड ९७ लाख ७१ हजार रुपैयाँबराबरको ४ लाख ७४ हजार ५७ टन ग्यास आयात भएको थियो। पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको हो।

Like