रामको जन्म माडीको अयोध्यापुरीमै भएको हो, एमाले अध्यक्ष ओली

Share to:

रासंसा/चितवन, ज्येष्ठ २५,

मुलुकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको बताएका छन्। नेकपा (एमाले) चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्‍याएका हुन्। ‘अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो’, उनले भने, ‘शास्त्रले जिन्ते गरी भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन्।’ ‘रामले अश्वमेध यज्ञका लागि छाडेको घोडा पश्चिमतर्फ गयो र वाल्मीकि आश्रममा लवकुशले समाते। फैजावादवाला अयोध्याबाट छाड्दा त दिल्लीतिर पो जान्छ त कहाँ यहाँ वाल्मीकि आश्रममा ? वाल्मीकि आश्रम त्यति छिटो त्यो घोडा आइ पनि पुग्दैन, जति समयमा यहाँ लवकुशले घोडा समातेका छन्। पश्चिमतिर गयो, पश्चिमतिरै समातियो वाल्मीकि आश्रममा। लवकुशले समाते। छिटै संवाद भयो। लवकुशले घोडा समाते भन्ने कुरा तुरुन्तै अयोध्यामा खबर आयो। त्यो घोडा छोडाउनका लागि त्यहाँ खबर गर्दा उनीहरूले अलिकति तेजस्वी, ओजस्वीजस्तो कुरा गरे’, उनले भने। २०७ औं भानु जयन्तीको अवसरमा २०७७ असार २९ मा ओलीको यो अभिव्यक्ति राष्ट्रिय बहसकै विषय बनेको थियो। चितवन आएका ओलीले विभिन्न किम्वदन्तीमा उल्लेख गरेको समेत बताए। उनले वाल्मीकि आश्रम, सीता अन्तध्र्यान भएको देवघाट आदि ठाउँमा यहाँका नदीनालाका नाममा यहाँको स्थान यी सबै कुरालाई अध्ययन गर्दै राम जन्मभूमि अयोध्यापुरी भएको निष्कर्ष निकालेको समेत बताए। राम र सीतालाई मिलाउनका लागि वाल्मीकिले दुवैलाई देवघाटसमेत बोलाएको बताए। ‘वीरगञ्जभन्दा पश्चिम, वालम्किीबाट पूर्व, ठोरीको आसपास, यहींनेर पर्छ, जहाँ अयोध्या भनिन्छ, जहाँ विभिन्न अयोध्या, त्रेतायुगसँग सम्बन्धित, दशरथ रामको समयसँग सम्बन्धी अनेक कुरा यहाँ उपलब्ध छन्। शास्त्रमा वर्णन गरेका कुरा विश्वामित्र ऋषि कोसी नदी तरेर पश्चिमतिर आएर रामलाई शिक्षादीक्षा दिए भन्ने कुरा, त्यसले पश्चिमतिर आएर शिक्षादीक्षा दिएर, त्यो पश्चिम कता हुनुपर्छ?’ आफैं प्रश्न गर्दै ओलीले भने, ‘शास्त्रमा रामको जन्म नेपाल हो भन्ने प्रमाण प्रशस्त उल्लेख गरिएको छ।’ ‘राम र सीतालाई मिलाउनका लागि वाल्मीकिले, सीता भएका ठाउँमा राम जान तयार नभएका र सीता आफूलाई निकालिएको घरमा गएर वार्ता गर्न तयार नभएको अवस्थामा एउटा बिचको ठाउँमा वार्ता गर्ने भनेर वार्ताका लागि स्थल देवघाटलाई छानेर वाल्मीकिले म सीतालाई लिएर आउँछु, राम अयोध्याबाट देवघाटमा आऊ भने। बाँकी रामलाई देवघाटमा बोलाउने कुनै अर्थ हुँदैनथ्यो। यहींका रामलाई त्यहाँ देवघाटमा बोलाएको हो’,उनले भने। ओलीले रामको जन्म र त्यसताकाको पृष्ठभूमिका बारेमा लामो स्पष्टीकरण दिएका थिए। रामको जन्मभूमि र अयोध्याको विवाद भारतमा नौलो होइन, तर यहाँ नेपालीले रामको जन्मभूमि भारतकै उत्तर प्रदेशमा रहेको अयोध्यालाई मान्दै आएका छन्, तर आलीले माडीमा मन्दिर बनाएर लगाएर कोरोना महामारीका बीच ठूलो तामझामसहित काठमाडौंबाट मूर्ति चितवनसमेत ल्याएका थिए। उनले गिरीबन्धुको जग्गा सट्टापट्टामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकबाट केही दिनअघि गरेको टिपप्णीमाथि जबाफ दिएका छन्। यसैबिच अध्यक्ष ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठप्रति लक्षित गरेर आफूले कुनै अभिव्यक्ति नदिएको स्पष्टीकरण दिएका छन्। शुक्रबार भरतपुर विमानस्थलमा अध्यक्ष ओलीलाई सञ्चारकर्मीले दिएको अभिव्यक्तिबारे प्रश्न गरेका थिए। ओलीले शिक्षामन्त्री श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएका बेला मन्त्री भएको भन्ने अभिव्यक्ति दिएका थिए। ओलीले मेयर बालेनको टिप्पणीलाई ‘भैंसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दंग परेजस्तै’ भन्ने टिप्पणी गरेका हुन्। उनले राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य बनाउनुपर्ने बताए।

Like