विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ १८,

विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्व धूम्रपान रहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो। १९८८ मा हरेक वर्ष मे ३१ मा विश्व धूम्रपान रहित दिवस मनाउन आह्वान गरिएको थियो। यो दिवसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरू, सुर्तीजन्य कम्पनीहरूको व्यावसायिक अभ्यासहरू, सुर्तीजन्य महामारीसँग लड्न विश्व स्वास्थ्य सङ्गठन के गरिरहेको छ, र विश्वभरका मानिसहरूले आफ्नो स्वास्थ्य र स्वस्थ जीवनको अधिकार दाबी गर्न र सुरक्षाका लागि के गर्न सक्छन् भन्ने बारेमा जनतालाई जानकारी गराउँदछ। हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ । युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता थुप्रै मृत्युका कारणलाई लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको सख्या भन्दा धेरै हुन सक्दैन । स्मरण रहोस्, संसारभरिका धेरै जसो ठुला–ठुला सुर्तीजन्य व्यवसायहरू औँलामा गन्न सकिने केही मात्र उद्योगपतिहरूको नियन्त्रणमा छ ।हरेक वर्ष विश्वभरिमा सुर्तीजन्य पदार्थको खेती गरिएका ३५ लाख हेक्टर खेतहरू विनाश गरिन्छ । सुर्तीजन्य पदार्थको खेतीका कारणले धेरै वन विनाश भएको र वातावरण बिग्रेको रेकर्ड पनि छ ।चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वका लागि ठुलो चुनौती हो । कागजको पानाभित्र भरिएको सुर्तीको कसबाट निस्किने निकोटिनको यो लतबाट संसार बासीलाई जोगाउन हरेक वर्ष मे ३१ गतेका दिन संसारले सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।
सन् २०२४ को सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको नारा
सन् २०२४ को विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको नारा Protecting children from tobacco industry interference हो । सुर्तीजन्य पदार्थ विरुद्धको दिवसमा यस वर्ष यी पदार्थहरूले बालबालिकामा पार्ने समग्र नकारात्मक प्रभावलाई यस वर्ष प्रकाश पारिनेछ ।
पछिल्लो समयमा सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयनमा कुनै प्रतिफल प्राप्त हुन सकेको छैन । धूम्रपानप्रति समाजको दृष्टिकोण पनि त समान छैन । जस्तै कि चुरोटलाई प्रतिष्ठित अनुहार र मान्छेले सेवन गरे रवाफ हुन्छ । जसले गर्दा नयाँ पुस्ताहरू धूम्रपानतर्फ आकर्षित हुन्छन् । जुन मानव सिकाइको मनस्थिति अनुसार स्वाभाविक नै हो ।
नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य राष्ट्र बनिसकेको छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो । उक्त महासन्धिको सदस्य राष्ट्र भएसँगै महासन्धिका प्रावधान पनि कानुन सरह लागू हुने व्यवस्था छ ।चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै यसको सेवनले बिग्रिएका फोक्सो, कलेजो अनि क्यान्सरका कारण क्षतिग्रस्त मानव मुहारका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिन्छ । नेपाल तुलनात्मक रूपमा विश्वमै सुर्तीजन्य पदार्थ सहज देश पनि हो । अन्य देशका तुलनामा यहाँ यसको सेवन गर्नेलाई कडा कानुन अनि प्रावधानको कार्यान्वयन फितलो छ । चुरोट, गुट्खा, सुर्ती छाड्न चाहनेलाई सहयोग पनि गर्नु हाम्रो दायित्व हो । सफा फोक्सो,मुख, स्वस्थ्य मुटु अनि सुन्दर भविष्य, एस–ट्रे भन्दा पनि गमला अनि फूलको बिक्री बढोस् आउँदा दिनहरूमा । सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको मर्यादा राखौँ है त ! स्वस्थ्य जीवनको कामना !!!

Like