सरकार भन्छ, ‘थाहै छैन’ डढेलोले कति क्षेत्र जल्यो त ?
रासंसा/काठमाण्डौ, ज्येष्ठ ११,
मुलुकमा एक साता अघिसम्म मुलुक डढेलोको रापले आक्रान्त थियो। जताततै डढेलोले घर, गोठ, वन र सामुदायिक भवन जलेका थिए। हजारौ पशुपन्छी मरे, करोडौंको धनमाल क्षति भयो। तर, उक्त डढेलोले के कति क्षेत्रफल विनास गर्यो भन्ने तथ्यांक सरकारी निकायसँग नै छैन। जबकी हरेक वर्ष डढेलोले मुलुकमा करोडौंको धनजनको क्षति हुने गरेको छ। वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगाना पनि अनुसन्धानदाताले अनुसन्धान गरेको बाहेक ठ्याक्कै डाटा नभएको बताउँछन्। ढुंगानाले भने, ‘मन्त्रालयले नीति निर्माणका काम मात्रै हेर्ने भएकाले डढेलोको तथ्यांक राखेको छैन। त्यसका लागि रिसर्च आर्टिकलहरू नै हेर्नुपर्छ। क्षेत्रगत हिसाबमा गरिएको अध्ययन हेर्नुपर्छ। ठ्याक्कै मिल्ने डाटा हुँदैन।’ तर, के कति डढेलो लाग्यो भन्ने संख्या भने निकालिन्छ। वन तथा भूसंरक्षण विभागअन्तर्गत रहेको डढेलोको पहिचान तथा अनुगमन प्रणालीको तथ्यांकअनुसार सन् २०२४ मा ५ हजार ८९ वटा डढेलोका घटना भएका छन्। वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवाली डढेलोमा मारमा मुलुकको के कति क्षेत्र पर्यो भन्ने तथ्यांक निकाल्न चुनौती रहेको बताउँछन्। ‘स्थानीय जिल्ला वन अधिकृतहरूले डाटा संकलन गरेर पठाएपछि मात्रै क्षेत्रफल निस्किन सक्छ। त्यो पनि ठ्याक्कै यति हेक्टर भन्ने हुँदैन,’ ज्ञवालीले थपे, ‘सबैले डाटा पठाउँदैनन्। क्षेत्रको हिसाबले भन्न सकिने अवस्था छैन। अनुमानित तथ्यांक मात्रै हुन्छ।’ सन् २०२३ मा ३ हजार १ सय ९५, सन् २०२२ मा १ हजार ५ सय २८ थियो। तर, सन् २०२१ मा ६ हजार ५ सय ३७ वटा डढेलो लाग्यो। सन् २०२० मा १ हजार १२ वटा डढेलोको घटना भएका छन् भने सन् २०१९ मा ३ हजार २ सय १९ वटा डढेलो लागेको छ। त्यसैगरी २०१८ मा १ हजार ३ सय ३ र सन् २०१७ मा १ हजार ५ सय ४५ वटा डढेलोको घटना भएका छन्। सन् २०१६ मा ५ हजार १ सय ९० वटा डढेलो लागेका थियो। यी तथ्यांकले डढेलोको संख्या बढीरहेको प्रष्ट्याउँछ। डढेलोले कुनै पनि क्षेत्र बाँकी राखेको छैन। राष्ट्रिय निकुन्ज तथा संरक्षित क्षेत्रहरूमा बारम्बार डढेलो दोहोरिएको तथ्यांक छ। जसका कारण कतिपय अवस्थामा महत्वपूर्ण वनस्पति तथा जनावरहरू लोप हुनसक्ने चुनौती थपिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले सन् २००१ देखि २०२० को अवधीमा तराई क्षेत्रमा अत्यधिक डढेलो लागेको अनुसन्धानबाट देखिएको बताउँछन्। उनको अनुसन्धानले कन्चनपुर, बाँके, बर्दिया र पर्सामा फेब्रुअरीदेखि मेसम्म अत्यधिक डढेलो लागेको देखाएको छ। ती सबै जिल्लामा राष्ट्रिय निकुन्जहरू छन्। राष्ट्रिय निकुन्ज निरन्तर जोडिएको र संरक्षित हुने भएकाले पातपतिंगर थुप्रिएको हुँदा आगलागी भएपछि ठूलो क्षेत्र जल्ने गर्छ। त्यहाँ ४५ डिग्रीसम्म तापक्रम पुग्ने हुँदा डढेलो थप आक्रामक बन्छ। उनका अनुसार २० वर्षको अवधिमा बर्दीया राष्ट्रिय निकुन्जमा चार हजार स्वायर किलोमिटरभन्दा बढी क्षेत्र डढेलोमा परेको छ। त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २००१ देखि २०२० भित्रमा सत्र सय २८ वटा डढेलो लागेको छ। त्यसले १ हजार ५१ वर्ग किलोमिटर क्षेत्र जलेको देखिन्छ। शुक्लाफाँटा भारतसँग जोडिएकाले भारततिरबाट आगो सल्किएर आउने गरेको उनले बताए। कतिपयले शिकार गर्न पनि आगो लगाउने गरेकाछन्। एकातिरबाट आगो लगाएर अर्को गौंडामा बस्ने र वन्यजन्तु भागेर आउँदा ढुकेर मार्ने चलन पहाडी जिल्लामा यथावत रहेको उनले जनाए। कतिले वन्यजन्तुबाट डर हुने र आगोबाट भाग्छ भन्ने बुझेर डढेलो लगाउँछन्। त्यसले वन्यजन्तु र वनस्पतिमा नराम्ररी असर गर्ने ऐरले बताए। ग्लोबल फायर पेरीमिटरका अनुसार उच्च हिमाली जिल्लामा जाडो समयमा पाटनहरूमा गोठ लैजाँदा आगो लाग्ने गर्छ। हिमाली जंगलमा आगो लाग्दा रुखै जल्ने हुन्छ। त्यो चक्र १५ देखि २० वर्षमा एक पटक दोहोरीन्छ। तर, तराई र पहाडमा वर्षमा एकपटक डढेलो लागिरहेको देखिएको ऐरले बताए। मानवीय कारणले नै डढेलो लाग्दै आएको छ। परम्परागत डढेलो सदियौंदेखि एउटै सिजनमा लाग्दै आएकाले वन्यजन्तुहरू आगोसँग अनुकूलित र अभ्यस्त भएको ऐर बताउँछन्। ‘जनावरहरूले टाढैदेखि धुँवाको गन्ध थाहा पाउने भएकाले सचेत हुन्छन्। ठूलो जनावरहरू सुरक्षित ठाउँमा गएर बस्छन। भाग्न नसक्ने साना जनावर, दुलोमा बस्नेहरू आगोको राप पुग्ने दूरीभन्दा मुनि जान्छन्’ ऐरले थपे ‘कतिपय जीवजन्तु पोखरी, खोलाको छेउछाउमा निस्किन्छन्। पहिलादेखि नै आगो लाग्ने भएकाले उनीहरूलाई त्यो समय तालिका थाहा हुन्छ।’ तर, बेमौसमी आगो लागेमा जनवरलाई असर गर्छ। हिजोआज समयभन्दा पहिला नै बेमौसमी डढेलो लाग्न थालेकाले चुनौती बढीरहेको छ। एकदमै ठूलो (क्राउन फायर) भएमा भाग्नै नसक्ने अवस्था आएमा जनावर र वनस्पति मा नराम्रो असर गर्छ। राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदप्रसाद ढकाल भन्छन्,‘आगलागीका हकमा ठुला खालका जनावरले अनुकूलन गरे पनि आवतजावत गर्न नसक्ने प्रजातीलाई असर हुन्छ। कतिपय अवस्थामा वन्यजन्तु भाग्न नसक्ने अवस्थामा पनि हुन्छन। आगलागी हुँदा आगो सहन सक्ने खालका प्रजाति पुनः आए पनि अन्य प्रजातीहरू लोप हुनसक्ने खतरा हुन्छ। डढेलोको विषयमा गम्भिर हुनुपर्ने समय आइसकेको ढकाल बताउँछन्। ढकाल भन्छन्, ‘डढेलोको विषयमा बृहत् अनुसन्धान गर्न बाँकी छ। यसको असर प्रभाव सोचेभन्दा बढी छ।’ डढेलो नियन्त्रणमा सरकार गम्भिर भएर लाग्नुपर्ने उनी बताउँछन्। नियतबस आगो लगाउनेलाई कानुनी कठघरामा ल्याउने, डढेलो नियन्त्रण उपकरण राख्ने, फायर लाइन बनाउने, पानी संरक्षण गर्ने पानीको संरक्षण गर्दा चिस्यान हुन्छ) ड्रोन लगायतका प्रविधिमा सरकारको तयारी पुगेको देखिँदैन औसतमा प्रति दिन एक हजार पाँच सय ८६ हेक्टर क्षेत्र डढेलोमा परेको र कम्तिमा ४० वटा डढेलो लागेको कृष्ण बहादुर भुजेल, रेजिना मास्के र अम्बिका प्रसाद गौतमको संयक्त अध्ययनले देखाउँछ। राष्ट्रिय निकुन्ज तथा संरक्षित क्षेत्रमा ५० प्रतिशतभन्दा बढी क्षेत्र प्रभावित भएको उनले बताए। सिस्टमेटिक हिसाबले डाटा नआउने हुँदा कति क्षेत्र जल्लो भन्न नसके पनि डढेलो अनुगमनको काम भइरहेको तर क्षतिको आँकलन नगरेको उनले बताए। ग्लोबल फरेस्ट वाच का अनुसार नेपालमा मार्चको मध्यदेखि ११ सातासम्म अत्यधिक डढेलोको समस्या हुने गर्छ। सन् २००१ देखि २०२२ सम्ममा नेपालले ६.८८ किलोहेक्टर जंगल डढेलोमा गुमाएको छ। नेपालमा ४६.५ किलोहेक्टर क्षेत्र जंगलले ढाकेको छ। क्लाइमेट मोडलहरूले डढेलो १० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ डढेलोले जंगल विनास, भूक्षय, बाढी, पहिरो निम्ताएर आर्थिक नोक्सान झन बढाउँदै लैजानेछ।
