आज सीता जयन्ती, गोरखकाली पूजा मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ३,

देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।।
सीता जयन्ती व्रत
वैशाख शुक्ल नवमी एउटा पावन नवमी हो । जसमा रामायणकी मुख्य पात्र अनि हिन्दु आस्थाकी केन्द्रबिन्दु स्वरूप नै मानिने सीता जयन्ती मनाइने गरिन्छ ।
विश्वले रामलाई के–के भन्यो
तर सीताले भन्दै गइन्
भन्दै रहिन्
राम नै सत्य हुन्, आदि हुन् अनि अन्त पनि
राम सँग हिँडे म
वनवास आफ्नै खुसीले गएँ
किनभने प्रेम थिए राम मेरा
प्रेम मैले चुनेकी हुँ
राम मेरा प्यारा
जय सियाराम
सीताको जन्म अर्थात् त्रेता युगअघि नै लेखिएको रिग्वेदमा सीतालाई धर्तीकी देवी माता भनेर चित्रण गरिएको छ । धर्तीबाटै प्रकट भएकाले रिग्वेदमा उल्लेखित देवीको नामबाट सीताको नाम राखिएको हुनपर्छ । पुष्य नक्षत्रमा जन्मिएकी सीता सनातन दर्शनको एउटा महान् नारी दृष्टान्त हुन् जसको नाम सदासर्वदा लिइन्छ । राम नामी च्यादरदेखि मन्दिरसम्म, भजनका संवाददेखि चलचित्रसम्म अझै पनि सीता रानीका त्याग, बलिदान अनि महानतालाई चित्रण गरिन्छ । अयोध्याका राजकुमार रामसँगको विवाह प्रसङ्ग बडो रोचक छ, सीताको । सँगै जोडिन्छ धनुष–बाणको गाथा पनि । सुख–सयलमा हुर्केकी सीता पतिसँग वनवास अनि कठोर बसाई हुँदै लङ्कामा रावणको अपहरणमा परी अधीन बस्न बाध्य भएकी थिइन् । सीताको जीवनमा एउटा उदाहरणीय उतार–चढाव पाइन्छ । उनका हरेक कुरा अनि निर्णयले मानव–जातिलाई ज्ञान अनि सहनशीलता सिकाएको छ । सीता माताको विवाह रामसँग त्रेता युगमा भएको हो । मिथिला, जानकी, रामनन्दकी लगायत सीताका अन्य धेरै नामहरू छन् ।नेपाली भू–भागमा पर्ने जनकपुरमा राजा जनकको छोरीका रूपमा सीतालाई मानिन्छ तथापि सीताका जन्मका विषयमा भने विभिन्न अन्य कथन अनि किंवदन्तीहरू पाइन्छ । सीतालाई राजा जनकले खेत जोत्दा भेटेका र धर्तीकी छोरी मानिन्छ । सीता पुनः अग्निपरीक्षापछि धर्तीमै समाहित भएको कथाहरू अझै पनि घर–घरमा सुनिन्छ । रावण अपहरणमा परेसँगै सीताको सतीत्व र पवित्रमाथि प्रश्न उठेपछि सतीत्व प्रमाणित गर्न सीता अग्निपरीक्षामा उत्रिएको किंवदन्ती घर–घरमा सुन्न पाइन्छ । रामको जन्म सीताको जन्मको ठ्याक्कै १ महिना पूर्व चैत्र महिनाको नवमीमा भएको हो । तसर्थ, राम नवमीको ठ्याक्कै एक महिनामा सीता नवमी पर्छ । लैङ्गिक भेदभावको उदाहरणका रूपमा सीताको चित्रण गर्ने एउटा भेदी जमात पक्कै नदेखिएका हैनन् । तथापि सीताको चित्रणमा कान्ति अनि सशक्तता दुवै पाइन्छ । स्वामी विकेकानन्दले त प्रष्टसँग भनेका छन् कि भविष्यमा या भूतकालमा धेरै रामहरू भएका या हुन सक्ने सम्भावना होला, तर सीता केवल एक मात्र छिन् र हुने छिन् । अविचलित सीता अनि मर्यादा पुरुषोत्तम रामका कहानीहरू घर–घरमा अझै सुनिन्छन् । सुनाइन्छन् । सीता एउटा भक्ति हो । शक्ति हो अनि एउटा उदाहरण हो । नारीहरूको असीमित धैर्यता, सहनशीलता र उदारताको । रामभित्र पनि सीता छिन् अनि रामायणमा सीता हरेक कण–कणमा छिन् । रामभित्र स्वयं राम भन्दा सीताको अंश धेरै छ । धर्म र साधनाकी देवी सीताको ममता–सयलमा विश्व सदैव रङिइरहनेछ । सीतालाई रामभन्दा पहिले नाम लिइन्छ । तसर्थ, राम–सीता भन्दा पनि हामी सीतारामको नाम सुन्दछौँ । पहिले सीता अनि राम । सनातन दर्शनमा लैङ्गिक समानताका प्रशस्तै कडीहरू पाइन्छन् । सीता तिनैमध्ये एक कडी हुन् । नेपालको जनकपुरमा जानकी मन्दिर सुशोभित छ, झलल बलेको यस मन्दिरमा रामायणका झल्कोहरू प्रत्यक्ष देख्न पाइन्छ ।
गोरखकाली पूजा
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ । यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ । बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ । गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन्, निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो । बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।

Like