प्रधानमन्त्रीको राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसद् अवरोध नगर्न कांग्रेसलाई आग्रह
रासंसा/काठमाण्डौ,ज्येष्ठ १,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्न आग्रह गरेका छन्। छलफलमा महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतका नेता सहभागी थिए। राष्ट्रपतिलाई संसद्मा अवरोध गर्दा गलत सन्देश जाने भएकाले लचक बन्न प्रधानमन्त्रीले आग्रह गरेका हुन्। जवाफमा कांग्रेसका नेताले संसदीय दलको बैठकपश्चात कसरी अगाडि बढ्ने निर्णय हुने बताएको छ। आज बिहान कांग्रेसका नेताहरुसँग बालुवाटारमा भएको छलफलमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गर्ने भएकाले अवरोध नगर्न आग्रह गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। कांग्रेसले सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिँदै आएको छ। आज बिहान ९ बजेपश्चात प्रमुख विपक्षी दल कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। संयुक्त बैठकपश्चात साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। प्रधानमन्त्री दाहालले गृहमन्त्रीतिर मात्र लक्षित नभएर समस्याग्रस्त सबै सहकारीका र सहकारीका बचत अपचलनमा जोडिएका सबैमाथि छानबिन हुनेगरी संसदीय समिति बनाउन सकिने मध्यमार्गी प्रस्ताव अघि सारेका थिए। प्रचण्डको आग्रहपश्चात कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकमा भने लचलता अपनाउने संकेत गरेको छ। राष्ट्रपति पौडेलले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। सरकारको सिफारिसमा आज ३ बजे राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि २:४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई संसद सचिवालयले आग्रह गरेको छ। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानविन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाका बैठक अवरोध गर्दै आएको छ। सभामुखले गृह मन्त्रालय र लामिछानेमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा बोल्न समय दिँदा वेलमा पुगेपछि कांग्रेसले रोस्टम् घेराउ गरेर बोल्न समेत दिएको छैन। तर महामन्त्री थापाले सदनमा गृहमन्त्रीको जवाफ सुन्नका लागी आफूहरु तयार रहेपनि सभामुखले जबरजस्ती कार्यसूचीमा प्रवेश गरेका कारण रोष्टम घेराउ गर्नुपरेको दाबी छ। कांग्रेसले संसद् नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा समावेश बुँदा हटाएर जेठ १ गतेसम्म संसद् बैठक स्थगित गरेका थिए। देशभरका सहकारीमा समस्या रहेकाले समग्र छानबिन समिति/आयोग बनाउन सकिने तर व्यक्ति केन्द्रित समिति गठनमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद कायमै हुँदा संसद्को गतिरोध अन्त्य हुन सकेको छैन। प्रधानमन्त्री दाहालले सोमबार सत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए। संसदको गतिरोध अन्त्यका लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहालले त्रिपक्षीय र द्विपक्षीय छलफल जारी राखेका हुन्। सभामुख घिमिरेले पनि शीर्ष नेता र प्रमुख सचेतकसँग आजको बैठकअघि नै विवाद टुंग्याउन आग्रह गरेका थिए।