वर्षाले डढेलोबाट राहत भयो

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २५,

मुलुकमा पश्चिमी वायु, स्थानीय वायुका अतिरिक्त भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणाली सक्रिय हुँदा देशका विभिन्न भागमा हल्कादेखि मध्य वर्षा भइरहेको छ। दाङको लालमटियामा २ मिलिमिटर पानी परेको छ। यस्तै, सिन्धुलीमाडीमा १.८ मिलिमिटर पानी परेको छ। अहिले लुम्बिनी र बागमती प्रदेशका केही भूभागमा वर्षा भइरहेको छ। अर्घाखाँची को सन्धिखर्क केन्द्रमा पछिल्लो एक घन्टामा १६ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो २४ घन्टामा रूकुमको मुसीकोटमा उल्लेख्य वर्षा भएको छ। त्यहाँ ७९.६ मिलिमिटर वर्षा भएको छ। ‘कोशी, बागमती, गण्डकी प्रदेशमा छिटपुट वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ,’ मौसमविद् गंगा नगरकोटीले बताइन्। यस्तै, स्याङ्जामा ६४.६, बागलुङको बोबाङमा ५१.४, गोरखामा ३७.४, पर्वतमा ३०.२, तनहुँमा २८ मिलिमिटर वर्षा भएको छ। उनका अनुसार केही बेरपछि ती भागहरूमा पानी पर्न रोकिनेछ। दिनैभरि बदलीको अवस्था रहेकाले दिउँसोतिर पुनः वर्षाको सम्भावना छ। जसका कारण पनि डढेलोबाट राहत मिल्ने अपेक्षा गरिएको हो। उनले वर्षाका कारण डढेलोको प्रकोपबाट राहत मिलेको बताइन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि पानी पर्ने पूर्वानुमान गरेको छ। ‘वर्षा भएका ठाउँमा डढेलो निभिसकेको छ। जहाँजहाँ वर्षातको सम्भावना छ, त्यहाँ डढेलोको प्रभाव कमजोर बन्दैजान्छ,’ उनले भनिन्। सुख्खायाम बढेसँगै आगलागीले पनि प्रकोपको रूप लिएको थियो। गत वैशाखयता आगलागीबाट १६ जनाको ज्यान गइसकेको छ। अगलागीबाट ६८ जना गम्भीर घाइते भएका छन्। १ हजार २ सय ५४ परिवार प्रभावित बनेका छन्। ७१२ घन नष्ट भएका छन्। २४५ घरमा आंशिक क्षति पुगेको छ। आगलागीबाट ४३ करोड ७२ लाख ५६ हजार रुपैयाँको धनमाल नष्ट भएको गृह मन्त्रालयले जानकारी दिएको छ। अहिले देशका विभिन्न २१ स्थानमा डढेलो लागिरहेको छ। वन तथा भू–संरक्षण विभागकाअनुसार अहिले १३ जिल्लाका २१ स्थानमा डढेलो लागिरहेको छ। वर्षातले वायु प्रद्रूषणमा भने कमी आएको छैन। वायु शुद्धता सूचकांक एक्युआईअनुसार काठमाडौं उपत्यकाकोवायुको गुणस्तर अत्यन्त कमजोर रहेको छ। ललितपुर भैंसेपाटीको एक्युआई २१७ रहेको छ । भक्तपुरको १५३.९९, ललितपुर खुमलटारको १५३.८४ र रत्नपार्कको १२६.८५ रहेको छ।

Like