चौबिसै घण्टा कर्णाली राजमार्ग खुलाउन माग

Share to:

सुशीलनाथ योगी/कालिकोट, बैशाख २३,

मुलुकमा कालीकोटका नागरिकले कर्णाली राजमार्ग चौबिसै घण्टा खुलाउन माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयले सो माग गरेका हुन्। कार्यक्रममा बजारमा व्यापार गर्दै आएका स्थानीय युवा जीवन शाहीले प्रहरीले राति ९ बजेदेखि प्रत्येक होटल बन्द गर्ने, राति आवतजावत गर्नेहरूलाई सोधपुछ गर्ने, फोटो खिच्ने लगायतका कार्यले नागरिकमा असर परेको बताए। कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले कर्णाली राजमार्गलाई चौबिसै घण्टा नियमित रुपमा खुला गर्नुपर्ने बताए। उनले भने, ‘ ठाउँमा ठाउँमा गरिने चेक जाँचले नागरिकलाई सास्ती भएको छ। ट्राफिक प्रहरीले दुःख दिइरहेको छ। रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले कालीकोटको मान्म बस्ने भनेर होटल बुक गरि सकेका हुन्छन्। बाटोमा रात परेको खण्डमा प्रहरीले छोड्दैन। यस्तो कार्यको अन्त्य हुनुपर्‍यो।’ कार्यक्रममा नागरिक समाजका अगुवा तुलाराम पाण्डेले मान्म बजारमा राखिएका सीसी क्यामेरा तथा सडक बत्तीले काम नगरेको बताए। उनले नगरपालिकाले यसप्रति चासो नदिएकोमा गुनासो गरे। नागरिक समाजका संयोजक दमनराज बमले ग्रामीण सडकमा सञ्चालन हुने गाडीहरूले मनपरी भाडा लिएको गुनासो गरे। उनले भने, ‘रास्कोटदेखि मान्मसम्म, नरहरिदेखि मान्मसम्म, खिनदेखि थिर्पुसम्मको भाडा मनपरी लिएकाले तत्काल रोक्न समेत अनुरोध गरे।’ प्रहरी नायव उपरीक्षक अर्जुन केसीले कर्णाली राजमार्ग रात दिन खुल्न नसक्ने भन्दै राति खुलाएको खण्डमा कुनै दुर्घटना भएको बेला फोन सम्पर्क नहुने र उद्धारमा पनि कठिनाइ हुने भएकाले समस्या भएको बताए।

Like